काठमाडौं । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार (भोलि) बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
जेनजी आन्दोलनमा तोडफोड भएपश्चात चन्द्रागिरि हिल्सको सेवा बन्द भएको थियो ।
केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरू प्राप्त गर्न सक्नेछन्।
गत भदौ २४ गतेको घटनाका क्रममा भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरूपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो ।
त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो ।
सेवा बन्द हुनुअघि चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए ।