६ बैंकले घटाए खराब कर्जा, ८ बैंकको ५ प्रतिशत नाघ्यो

काठमाडौं । ‘विगतमा हाम्रो बैंकको पनि १ प्रतिशत भन्दा कम खराब कर्जा थियो । तर, आजको दिनमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि १ प्रतिशतभन्दा बढी पुगिसक्यो । अब १ प्रतिशतभन्दा कम खराब कर्जा रहेको एभरेष्ट बैंक मात्रै हो,’ एक बैंकका उच्च व्यवस्थापकले भने, ‘यो आर्थिक वर्षदेखि समाधान हुन खोजिरहेको थियो । तर, जेनजी आन्दोलनको प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष असर जति परेको छ, त्यहि नै प्रोभिजन राख्नु भनेर राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले रिस्ट्रक्चरिङ गर्न नपाउने भनिएको छ ।’ 

उनका अनुसार आन्दोलन पछि ऋण असुलीमा ठूलो सकस भोगिरहनु परेको छ । अहिलेको जस्तो स्थिति आफ्नो बैंकिङ अनुभवमा कहिले पनि नदेखेको उनी बताउँछन् । बैंकिङ क्षेत्रमा देखिएको सकस साम्य हुन १/२ वर्ष लाग्न सक्ने उनले बताए । 

ती बैंकरले भने जस्तै बैंकहरुको खराब कर्जा उच्च विन्दुमा पुगेकाे छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) ४.६ प्रतिशत पुगेको छ । जुन गत वर्षको असोज मसान्तको तुलनामा १७.६६ प्रतिशत बढेर ४.७ प्रतिशत विन्दुमा पुगेको हाे । गत वर्षको असोजसम्म बैंकहरुको खराब कर्जा ३.९१ प्रतिशत थियो । 

समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको रहेको छ । हिमालयन बैंकको खराब कर्जा ४८.३९ प्रतिशत बढेर ७.३९ प्रतिशत विन्दुमा पुगेको छ । जबकि गत वर्षको असोजमा ४.९८ प्रतिशत विन्दु थियो ।

असोज मसान्तसम्ममा नेपाल एसबीआई बैंकको खराब कर्जा ६३.५८ प्रतिशत ३.०१ प्रतिशत विन्दु रहेकाे छ ।प्रतिशतका आधारमा यस बैंकको खराब कर्जा सबैभन्दा धेरै बढेको देखिन्छ ।

यस्तै, नेपाल बैंकको ५७.३० प्रतिशत बढेर ५.४९ प्रतिशत विन्दु, हिमालयन बैंकको ४८.३९ प्रतिशत बढेर ७.३९ प्रतिशत विन्दु, कुमारी बैंकको ४०.७२ प्रतिशत बढेर ६.९८ प्रतिशत विन्दुमा खराब कर्जा रहेको छ । 

सार्वजनिक तथ्याङ्क अनुसार सानिमा बैंकको ३२.९९ प्रतिशत बढेर ३.९१ प्रतिशत विन्दु, माछापुच्छे बैंकको ३१.११ प्रतिशत ४.१३ प्रतिशत विन्दु, सिटिजन्स बैंकको २६.४३ प्रतिशत ६.८४ प्रतिशत विन्दु, एनएमबि बैंकको २६.१७ प्रतिशत ४.५८ प्रतिशत विन्दुमा खराब कर्जा रहेका छन् । 

प्राइम बैंकको २०.५७ प्रतिशत बढेर ५.८६ प्रतिशत विन्दु, प्रभु बैंकको १७ प्रतिशत बढेर ५.७८ प्रतिशत विन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को १३.९१ प्रतिशत बढेर ६.६३ प्रतिशत विन्दु, ग्लोबल आइएमई बैंकको ६.६३ प्रतिशत बढेर ४.९८ प्रतिशत विन्दु, नबिल बैंकको १.१७ प्रतिशत बढेर ४.३१ प्रतिशत विन्दुमा खराब कर्जा रहेको तथ्याङ्क छ । 

तर, कृषि विकास बैंकको खराब कर्जा भने स्थिर रहेको छ । असोजसम्म बैंकको खराब कर्जा ४.७८ प्रतिशत विन्दुमा रहेको छ । 

समीक्षा अवधिमा ६ बैंकले भने खराब कर्जा घटाएका छन् । एनआइसी एशिया बैंकको १६.३४ प्रतिशत घटेर १.७४ प्रतिशत विन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२.३० प्रतिशत घटेर १.७१ प्रतिशत विन्दु, राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत घटेर ३.८३ प्रतिशत विन्दु, एभरेष्ट बैंकको ३.८९ प्रतिशत घटेर ०.७४ प्रतिशत विन्दु, सिद्धार्थ बैंकको २.८१ प्रतिशत घटेर ३.८ प्रतिशत विन्दु र लक्ष्मी सनराइज बैंकको ०.३६ प्रतिशत घटेर ५.४२ प्रतिशत विन्दुमा खराब कर्जा झारेका छन् ।
null

Share News