काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले अन्तर्राष्ट्रिय रुपमा मनाइने विश्व मधुमेह दिवस (नोभेम्बर १४) र समय अघिनै जन्मिएका नवजात शिशु दिवस (नोभेम्बर १७) को अवसरमा यस वर्ष सप्ताहव्यापी विशेष कार्यक्रम आयोजना गर्दैछ । प्रतिष्ठानले मधुमेह र समयपूर्व जन्मिएका शिशुमा समयमै पहिचान, सचेतना र सहकार्यपूर्ण उपचारको आवश्यकता औँल्याउँदै आँखा स्वास्थ्य प्रवद्र्धन र अन्धोपन रोकथाममा जनचेतना फैलाउने लक्ष्य राखेको छ ।
नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवसले मधुमेह र त्यसका जटिलताप्रति ध्यानाकर्षण गराउँछ । अन्तर्राष्ट्रिय डायबेटिज संघका अनुसार हरेक ९ जनामध्ये १ जनामा मधुमेह देखिन्छ, जसका कारण आँखाको पर्दामा समस्या (डायबेटिक रेटिनोप्याथी) हुने जोखिम बढ्छ । उपचार समयमा नभए अन्धोपन निम्त्याउन सक्छ । प्रतिष्ठानले मधुमेह भएका सबैलाई नियमित आँखा परीक्षण गर्न आग्रह गरेको छ ।
नोभेम्बर ८–१६ सम्मको सप्ताहव्यापी अभियान अन्तर्गत सचेतनात्मक अडियो–भिडियो सामग्री निर्माण, संचारमा सहभागिता, शनिबार कात्तिक २२ गते सचेतना र्याली, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एलसिके भिजन सर्कल र अन्य लायन्स सदस्यहरूको सहभागिता, निःशुल्क आँखा परीक्षण, शैक्षिक कार्यक्रम, बिरामी–परिवार–चिकित्सक अन्तरक्रिया, र कात्तिक २९ गते योग तथा जुम्बा जस्ता कार्यक्रम समावेश छन् ।
मुख्य सन्देशहरूमा डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लगाउन सकिने, नियमित आँखा परीक्षण आवश्यक, र सन्तुलित आहार तथा स्वस्थ जीवनशैलीले मधुमेह नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख छ ।
नोभेम्बर १७ मा मनाइने दिवसले समयपूर्व जन्मिएका शिशु र परिवारले सामना गर्ने चुनौतीबारे जनचेतना बढाउने लक्ष्य राखेको छ । समयपूर्व जन्मिएका शिशुमा रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुन्छ । यदि समयमै उपचार नपाए दृष्टिविहिन हुने सम्भावना बढ्छ ।
प्रतिष्ठानले यस दिवसको अवसरमा सचेतनात्मक अडियो–भिडियो सामग्री निर्माण, देशभरका नवजात शिशु उपचार केन्द्र र बाल चिकित्सकहरूसँग सहकार्य गर्दै २८ दिनभित्र शिशुहरूको आँखा परीक्षण गर्न विशेष पहल गर्दै आएको छ । प्रारम्भिक स्क्रिनिङ र उपचारमार्फत अन्धोपनको जोखिम घटाउने लक्ष्य राखिएको छ ।
समय अघिनै जन्मिएका शिशु दिवसका मुख्य सन्देशहरूमा २८ दिनभित्र परीक्षण अनिवार्य, समयमै उपचारले जीवनभरको दृष्टि हानि रोक्ने, र परिवार तथा हेरचाह गर्ने व्यक्तिहरूको समर्थनले शिशुको स्वास्थ्य र विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा समावेश छन् ।
प्रतिष्ठानले स्वास्थ्यकर्मी, स्वयंसेवक र सम्बन्धित संस्थाहरूलाई रोकथाम गर्न सकिने अन्धोपन विरुद्धको अभियानमा सहभागी भएर सबैका लागि स्वस्थ दृष्टि अधिकार सुनिश्चित गर्न आह्वान गरेको छ । उपचार पहुँच नभएका र आर्थिक रूपमा कमजोर बिरामीका लागि सहुलियत सेवा समेत प्रदान गर्दै आएको छ ।