काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ अंकले घटेर २५९४ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ७१ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको ३० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, राधी विद्युत कम्पनीको ३० करोड ७६ लाख, हिमालयन डिस्टीलरीको २७ करोड ८५ लाख, एनआरएन इन्फ्राइस्ट्रक्चरको २७ करोड २६ लाख र युनियन हाइड्रोपावरको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । दरमखोला हाइड्रो इनर्जी र माबिलुङ इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी सम्पदा लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.४३, विकास बैंक ०.५४, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.२५, जलविद्युत् ०.६८, लगानी ०.११, जीवन बीमा ०.५७, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.९९, अन्य ०.६२ तथा व्यापार ०.२१ प्रतिशतले घटेका छन् । उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशतले बढेको छ ।