काठमाडौं । ‘हामी नेपाल’का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गरेका छन् । हत्यारा र भ्रष्टाचारीहरूलाई कारबाही नगरी जेनजी कार्यकर्ताहरूलाई कारबाही गरेको आरोप लगाउँदै उनले गृहमन्त्रीप्रति असन्तुष्टि जनाएका हुन् ।
गुरुङले सामाजिक सञ्जालमार्फत अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश शीर्षकमा पोस्ट गर्दै अर्यालले अब पद त्याग गर्नुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘सहिदको रगत सम्झनुहोस् नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्, काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् ।’
‘कामले नै देखाउँछ र बोल्छ भन्ने सोचेको थिएँ, तर अब तपाईंबाट आशा मरिसकेको छ,’ उनले थपेका छन् ।
त्यस्तै, गुरुङले भदौ २३ र २४ गते भएको आन्दोलन २०८४ सालको निर्वाचन २०८२ मा सार्नका लागि नभएको स्पष्ट पारेका छन्।
उनले चेतावनी दिँदै भनेका छन्, ‘यदि नेपाली जनता र जेनजीको माग सम्बोधन हुँदैन भने यसपालिको चुनाव पनि हुन दिने छैनौं ।
गृहमन्त्री अर्यालले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया भने दिएका छैनन्।