बैंकको ३७ अर्ब रुपैयाँ लगानी रहेका संरचनामा क्षति

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको ३७ अर्ब रुपैयाँ लगानी रहेको निजी क्षेत्रको संरचनामा क्षति पुगेको बताएका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनमा जेनजी आन्दोलनकारीहरूले सरकारी तथा निजी क्षेत्रका धेरै संरचनामा तोडफोड र आगजनी गरेका थिए ।

आन्दोलन लगत्तै राष्ट्र बैंकले गरेको अध्ययनमा ३७ अर्ब रुपैयाँ बैंकको लगानी रहेको निजी क्षेत्रका संरचनामा क्षति पुगेको गभर्नर डा. पौडेलले बताए । 

‘जेनजी आन्दोलनपछि हामीले क्वीक क्यालक्कुलेसन गरेको थियौं । निजी क्षेत्रमा बैंकको प्वाइन्ट अफ भिउबाट हेर्दा ३७ अर्ब रुपैयाँको ड्यामेज भएको देखिन्छ । तर, मुख्य ड्यामेज सरकारको भएको छ । निजी क्षेत्रको बैंकबाट क्विक्ली लिएको लिएको त्यहि हो । त्यसमा कतिपय बीमा पनि भएको छ,’ 

उनका अनसार जेनजी आन्दोलनपछि लगानीकर्ताको मनबोल अत्यन्तै गिरेको छ । विगतदेखि पैसा भएपनि लगानी नभइरहेको अवस्थामा आन्दोलनपछि थप वातावरण बिग्रिएको उनको भनाइ छ । 

‘विगत एक/दुई वर्षदेखि नै हाम्रोमा लगानी भइरहेको थिएन । हाम्रो देशमा पैसा थियो तर, इन्भेष्टमेन्ट भएको थिएन । व्यापारीहरुको मनोबल गिर्दै गएको थियो । त्यसको लागि बिग पुस चाहिने थियो तर, त्यसको लागि काम भइरहेको थिएन । हामी आफैं पनि मुख्य ठूलो लगानी आकर्षित गर्न खोजिरहेका थिएनौं । सरकारले सुरु गरेका काम पनि भएका थिएनन्,’ उनले भने ।

उनका अनुसार मुग्लिन–काठमाडौं सडक काठमाडौंका लागि मुख्य राजमार्ग हो । तर, विगत ३० वर्षको अवधिमा उक्त सडकमा गुड्ने गाडीको कुनै परिवर्तन नआएको उनले बताए । 

‘अर्थतन्त्रलाई गति दिन चाहिने नीतिगत सुधार र लगानीलाई बढाउन आपश्यक पर्ने काम सुस्त छ । लगानीका लागि आवश्यक पर्ने विषय पहिचान गरेर अगाडि बढ्न सकिरहेको थिएन,’ उनले भने, ‘अहिले ब्याजदर घटेको थियो, ब्याजदर घट्दा पनि माग बढिरहेको थिएन । यस्तो अवस्थामा जेनजी आन्दोलन भएको हो । यसले मनोबल झन् गिराउने काम भएको छ ।’ 

गभर्नर डा. पौडेलका अनुसार ब्याजदर न्यून विन्दुमा हुँदा पनि मान्छेहरुले व्यवसाय गर्न चाहेका छैनन् । किनभने काम गर्ने वातावारण नरहेको उनले बताए । बैंकहरुले लगानी गर्न नसकेपछि राष्ट्र बैंकले निक्षेप खिचिरहेको उनको भनाइ छ । काठमाडौंलगायत मुख्य सहर केन्दीत मात्रै लगानी भइरहेको उनले बताए । 

‘मध्य पहाडी राजमार्ग बनेको छ । बागलुङबाट डडेल्धुरासम्म यात्रा गरे । रुकुम भ्याली, दैलेख, जाजरकोट सुन्दर छन् । हामीले गरिबी रहेको भनेका ठाउँमा पनि रोडहरु पुगेका छन् । तर, होटलहरु छैनन्, क्याफेहरु छैनन्, पर्यटन पुवर्धाहरु छैनन् । फिल्महलहरु छैनन्,’ उनले भने, ‘मान्छेहरु रमाउने वातावरण पनि बनाइरहेका छैनौं । कर आइरहेको छैन । रोडहरु बन्दा पनि कर आउने ठाउँ भएन । त्यसैले सबैलाई लगानी गर्न आग्रह गरिरहेको हुन्छु । धेरै जसो लगानी काठमाडौं केन्द्रीत छ अथवा तराईको सहरहरुमा केन्द्रीत भइरहेको छ ।’ 

उनका अनुसार वैकल्पिक विकास वित्त कोषलाई एकवर्ष अगाडिदेखि आक्रामक रुपमा बढाउन खोजिएको थियो । जसबाट केही ठूला आयोजना निर्माण गर्ने भनिएको थियो । अब व्यवसायीहरुलाई सहज वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ । व्यवसायीहरुलाई सहज वातावरण बनाउनु आवश्यक रहेको उनले बताए ।

‘व्यवसायीलाई चोर हो, फटाहा हो भन्न सजिलो छ । सानो मान्छेले मेहेनत गरेर यहाँसम्म आइपुग्दा एक÷दुई वटा गल्ति भए होलान् । तर, त्यही विषयलाई लिएर कनाएको कनाई गर्छन् । त्यसलाई इग्नोर गरेर यसले रोजगारी श्रृजना गरेको छ, कर तिरेको छ, अझै कर तिर्ला भन्ने दृष्टिकोणबाट पनि हेर्न सकिन्छ,’ उनले भने । 

Share News