धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका-५ र बागलुङको ताराखोला गाउँपालिका-४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीय स्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि २ हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पद मार्ग, खानेपानी र आश्रय स्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङखला, सूर्योदय र पहाडी भूगोलको दृश्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ ।

पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन तिनचुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको सङ्ख्या बढेको जानकारी दिए ।

‘गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो । केही वर्ष अघिसम्म सुनसान तिनचुलेमा स्वदेशी पर्यटकको आगमन बढ्न थालेको छ,’ उनले भने । 

ताराखोला गाउँपालिकाको २० लाख रुपैयाँ बजेटबाट गत आर्थिक वर्षमा तिनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझ खर्कदेखि तिनचुलेतर्फ जाने २१० मिटर ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण गरिएको थियो । 

स्थानीयले चन्दा सङ्कलन गरेर माझ खर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको ७ लाख रुपैयाँ बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र २०० मिटर पदमार्ग निर्माण भएको थियो । तिनचुलेमा दृष्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानबाट करिब ३ लाख रुपैयाँ सङ्कलन भएको थियो । 

गण्डकी प्रदेश सरकारको ७५ लाख रुपैयाँ र तालाखोला गाउँपालिकाको १० लाख रुपैयाँ लगानीमा ताराखोला गाउँपालिका-४ नागबेलीदेखि दावा हुँदै तिनचुले जोड्ने ५ किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि २ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । 

यसैगरी, मङ्गला गाउँपालिका-५ देउरालीदेखि तिलचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको २१ लाख रुपैयाँ लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट २ हजार २०० मिटर लामो पाइपबाट पानी लगेर ५ हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र २ वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ ।

समुद्र सतहबाट २ हजार ९२२ मिटर उचाइमा रहेको तिनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।  तिनचुलेको शिवालयमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास जनविश्वास छ ।

Share News