काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई भुक्तानी गरेको छ । बोर्डले अस्पतालबाट प्राप्त कागजातको पुनरावलोकन गरी चैतसम्मको बक्यौता भुक्तानी गरेको हो ।
बोर्डले आर्थिक वर्ष २०७७/७८ देखि बाँकी रहेको अस्पतालको २०८१ चैतसम्मको बक्यौता रकम केही दिनअघि मात्र भुक्तानी गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिए ।
बोर्डले पुरानो भुक्तानी बाँकी नराख्ने गरी नियमित भुक्तानी गर्ने तयारी गरेको उनले बताए ।
‘धेरै वर्षदेखि अस्पतालबाट भुक्तानीका लागि प्राप्त भएका कागजातको पुनरावलोकन गरी हामीले गत असोजसम्मको बक्यौता रकम निकालेका छौँ । अहिले गत चैतसम्मको रकम अस्पताललाई दिएका छौँ,’ उनले भने ।
उनले कात्तिक महिनाभित्रमा वैशाखदेखि असोजसम्मको बाँकी बक्यौता रकम अस्पताललाई उपलब्ध गराइने दाबी गरे । काफ्लेका अनुसार अस्पताललाई तिर्नुपर्ने बक्यौता रकमका लागि अर्थमन्त्रालयसँग माग गरिएको छ ।
उनले वैशाखदेखि असोजसम्म करिब ११ अर्ब रुपैयाँ बक्यौता रहेको जानकारी दिए । बोर्डले बीमित आबद्धबापत वार्षिक ३ खर्ब ७२ करोड रुपैयाँ सङ्कलन गर्दै आइरहेको छ ।
बोर्डका कार्यकारी निर्देशक डा.काफ्लेका अनुसार बोर्डको वार्षिक खर्च करिब २६ अर्ब रुपैयाँ रहेको छ ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ५ जना परिवारसम्मका लागि ३ हजार ५०० रुपैयाँ बराबरको योगदानको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ ।
देशभरि बोर्डमा प्रथम सेवा बिन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा रहेका छन् । बोर्डमा हाल ९४ लाख बीमित आबद्ध छन् ।