काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिका समिति सदस्य अन्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश (खाम्सोङ) तामाङले बैठककै क्रममा कुटपिट गरेका छन् ।
नेपाल शिक्षक महासंघ इन्द्रावतीले जानकारी दिएअनुसार मंगलबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला अध्यक्ष तामाङले प्रधानाध्यापक भण्डारीमाथि अभद्र व्यवहार गर्दै गाली–बेइज्जती मात्र होइन, शारीरिक आक्रमण समेत गरेका थिए । उक्त आक्रमणका क्रममा भण्डारीको आँखा र गालामा चोटपटक लागेको महासङ्घले जनाएको छ ।
घटनापछि नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिका समितिले विज्ञप्ति जारी गर्दै उक्त कार्यप्रति घोर आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, 'यो निन्दनीय घटनामा संलग्न रमेश तामाङलाई तुरुन्तै कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही होस् । ढिलासुस्ती भए महासंघ आवश्यक मूल्य चुकाउन तयार छ ।'
महासंघले प्रधानाध्यापक भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विद्यालयमा शिक्षामैत्री वातावरण कायम राख्न स्थानीय प्रशासन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।