काठमाडौं । नेकपा एकीकृत समाजवादीकी संस्थापक नेतृ रामकुमारी झाँक्रीले आफ्नो पार्टीसँगको राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले पार्टी विघटनको बाटोमा पुगेको बताउँदै नयाँ राजनीतिक दिशा खोज्ने संकेत दिइन् ।
'समाजवादी पार्टीको अभियान भव्य हुने विश्वास थियो, तर त्यो सम्भावना समाप्त भएको छ। हाम्रो त्यो यात्रा यसको विघटनसँगै समाप्त भयो,' झाँक्रीले भनिन् ।
यसअघि पार्टीका अर्का नेता किसान श्रेष्ठले पनि निसर्त रूपमा एमाले फर्किन तयार रहेको बताएका थिए । 'हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए पुग्छ,' श्रेष्ठले पत्रकार सम्मेलनमा भनेका थिए ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले हालै माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरेपछि झाँक्री, श्रेष्ठलगायत नेताहरू असन्तुष्ट बनेका हुन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार झाँक्री र उनका सहयात्रीहरू पुनः एमालेमा फर्किए भने नेपालको वाम राजनीतिमा नयाँ समीकरण बन्ने सम्भावना बलियो देखिएको छ ।