डेडिकेटेड र ट्रंकलाइन विवादः ६ उद्योगले बुझाए ३० लाखभन्दा बढी धरौटी

काठमाडौं । ६ वटा उद्योगले नेपाल विद्युत प्राधिकरणलाई धरौटीवापत ३० लाख ५७० रुपैयाँ ८० पैसा बुझाएका छन् ।

धरौटी बुझाएसँगै ६ वटा उद्योगको विद्युत लाइन पुनः सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

उनका अनुसार हिजो बुधबार चारवटा उद्योगको विद्युत लाइन जोडिएको थियो । त्यसैगरी, त्यसअघि कार्त्तिक ८ गते दुईवटा उद्योगले धरौटी बुझाएसँगै बिजुलीको लाइन जोडिएको थियो । 

प्रिमियम महसुलको बक्यौता रकम बुझाउने उद्योगहरूमा पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल, सिद्धार्थ पेट प्लान्ट, श्याम प्लाष्टिक, घराना फूड तथा गोयन्का फुड्स रहेका छन् ।

यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् ।

यसअघि २५ वटा उद्योगको विद्युत लाइन काटिएको थियो । धरौटी रकम बुझाएलगत्तै प्राधिकरणले तत्काल बिजुलीको लाइन जडान गरिरहेको छ ।  

१९ उद्योगहरूमध्ये केही उद्योगहरूले पनि बक्यौता रकम बुझाउन प्रक्रियामा रहेको र किस्ता तिर्न थालेपछि लाइन जोडिने प्राधिकरणले जानकारी दिएको छ ।

‘हामीले उद्योगहरूलाई पैसा तिर्नुस्, लाइन जोडिन्छ भनेका छौं । पैसा तिरेपछि बिजुलीको लाइन जोडिन्छ,’ कार्यकारी निर्देशक सिलवालले विकासन्युजसँग भने ।

Share News