अध्यक्षलाई कार्यालय प्रवेश निषेधपछि अर्थ मन्त्रालयमै बस्दै धितोपत्र बोर्ड सञ्चालक समितिको बैठक

काठमाडौं । अर्थ मन्त्रालयमा धितोपत्र बोर्ड सञ्चालक समितिको बैठक मंगलबार (आज) बस्ने भएको छ । आज बेलुका ४ बजे मन्त्रालयमै सञ्चालक समितिको बैठक डाकिएको धितोपत्र बोर्डका  अध्यक्ष सन्तोषनारायण श्रेष्ठले जानकारी दिए ।

कर्मचारीले श्रेष्ठलाई कार्यालय प्रवेश गर्न नदिएपछि धितोपत्र बोर्ड सञ्चालक समितिको बैठक बस्न लागेको हो । उनीहरूले श्रेष्ठको राजीनामासमेत मागेका छन् ।

कार्यालय प्रवेशमा बाधा पुगेपछि बैठक बस्न लागिएको हो । 

कर्मचारीहरूले आफूहरूले पाएको सेवा–सुविधा अर्थ मन्त्रालयले कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरू असोज ७ गतेदेखि आन्दोलनरत छन् । 

आन्दोलन सुरु भएसँगै धितोपत्र बोर्डमा कुनै पनि काम हुन नसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

आन्दोलनको निष्कर्ष निकाल्न नसक्ने, कर्मचारीको हित र रक्षामा उभिन नसक्ने अध्यक्षले नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्न योग्य नरहेको कर्मचारीहरूको भनाइ छ ।

गत असोज २ गते अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष तत्काल खारेज गर्न निर्देशन दिएको थियो । 

साथै प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्ने र कुनै पनि आर्थिक दायित्व पर्ने विषयमा निर्णय गर्नु पूर्व अनिवार्य रूपमा अर्थ मन्त्रालयको सहमति लिनु पर्ने व्यवस्था कार्यान्वयन गर्ने अर्थमन्त्रालयको राजस्व सचिवस्तरीय निर्णय गरेर सेबोनलाई पत्राचार गरेको छ ।

‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार ९कार्य विभाजन० नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्तसम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरित जारी भएका धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने,’ अर्थमन्त्रालयको गत भदौ ३१ गते राजस्व सचिवस्तरीय निर्णयमा भनिएको छ 

मन्त्रालयको उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने भन्दै बोर्डका कर्मचारीहरू ४३ औं दिन पनि आन्दोलनमा उत्रिएका हुन् ।

Share News