काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले घटेर २५९५ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ३३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै राधी विद्युत कम्पनीको २२ करोड, युनियन हाइड्रोपावरको १८ करोड ७६ लाख, सिंगटी हाइड्रोको १८ करोड ४५ लाख र शिवम् सिमेन्टको १८ कारोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
माबिलुङ इनर्जीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । मुक्तिनाथ कुषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
मंगलबार सबै समूहका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै २.२१ प्रतिशतले घटेको छ । बैंकिङ ०.६६, विकास बैंक १.४७, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.२१, लगानी ०.८७, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.२१, अन्य १.८१ तथा व्यापार ०.११ प्रतिशतले घटेका छन् ।