काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकारी निर्देशक (ईडी)हरूको सरुवा गरेका छन् । गभर्नर डा.पौडेलले एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार विदेशी विनिमय विभाग प्रमुख रहेका रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग प्रमुखमा सरुवा गरेको छ ।
सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग प्रमुख रहेका रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा सरुवा गरिएको छ । यसअघि बैंकिङ विभाग प्रमुख रहेका डा. डिल्लीराम पोख्रेललाई भने मौद्रिक व्यवस्थापन विभागको प्रमुखमा सरुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
साथै, मौद्रिक व्यवस्थापन विभाग प्रमुख रहेका दयाराम शर्मालाई गभर्नरको कार्यालयमा सरुवा गरिएको छ । गभर्नर कार्यालयमा रहेका राजन विक्रम थापालाई भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
यसअघि संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको प्रमुख अनुज दाहाल थिए । दाहाललाई मुद्रा व्यवस्थापन विभागमा पठाएको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि मुद्रा व्यवस्थापन विभाग प्रमुख रहेका रामु पौडेललाई भने शक्तिशाली विभागका रुपमा चिनिएको बैंक तथा वित्तीय संस्था नियमनमा सरुवा गरिएको छ ।
यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरु प्रसाद पौडेल थिए । उनलाई मानव संसाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।
यस्तै, मानव संसाधन व्यवस्थापन विभाग प्रमुख रहेका विश्रुत थापालाई भने वित्तीय संस्था सुपरीवेक्षण विभागको प्रमुख बनाइएको राष्ट्र बैंकले जनाएको छ ।
कार्यकारी निर्देशक किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा सरुवा गरिएको छ । यसअघि उनी भुक्तानी प्रणाली विभाग प्रमुख थिए । गभर्नर पौडेलले डा. सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागको जिम्मेवारी दिएका छन् । यसअघि उनी वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख थिए ।