काठमाडौं । टेस्लाविरुद्ध विस्कन्सिन राज्यमा भएको एक भीषण दुर्घटनापछि मुद्दा दर्ता गरिएको छ । उक्त दुर्घटनामा परी मोडल एस कारसँगै पाँचै यात्रुको जलेर मृत्यु भएको थियो ।
आरोप अनुसार कारको ढोका खोल्न नसक्नाले उनीहरू सवारीभित्रै फँसेका थिए ।
क्रान्डन, विस्कन्सिनका ५४ वर्षीय जेफ्री बाउर र ५५ वर्षीय मिशेल बाउर सवार मोडल एस नोभेम्बर १, २०२४ मा म्याडिसन नजिकको उपनगरीय क्षेत्र भेरोनामा सडकबाट बाहिर गई रूखमा ठोक्किएको थियो । उनीहरूको मृत्यु अर्को दिन भयो।
शुक्रबार बाउर दम्पतीका चार सन्तानले दायर गरेको उजुरी अनुसार कारमा जडान गरिएको लिथियम–आयन ब्याट्री प्याकका कारण इलेक्ट्रोनिक ढोका प्रणाली निष्क्रिय भई उनीहरू भित्रै फँसेका थिए ।
सन्तानहरूले आरोप लगाएका छन् कि टेस्लालाई यस खतराको जानकारी पहिलेका आगलागी घटनाबाट नै थियो, तर कम्पनीले ‘थाहा पाइसकेका र सम्भव सुरक्षात्मक उपायहरूबाट जानाजानी विचलन’ गरेको थियो ।
एलन मस्क नेतृत्वको अष्टिन, टेक्सासस्थित टेस्लाले सोमबारसम्म सो मुद्दाबारे कुनै प्रतिक्रिया दिएको छैन ।
उक्त कम्पनीमाथि अघिल्लो नोभेम्बरमा स्यान फ्रान्सिस्को नजिक साइबरट्रक दुर्घटनामा ज्यान गुमाएका दुई कलेज विद्यार्थीका परिवारहरूले पनि यस्तै कारणले मुद्दा दायर गरेका थिए । उनीहरू पनि ढोका ह्यान्डल डिजाइनका कारण जलिरहेको कारभित्र यात्रु फँसेका थिए भन्ने दाबी गर्छन् ।
अमेरिकी यातायात सुरक्षा निकायले टेस्लाको ढोका डिजाइनको छानबिन गर्दै
गत सेप्टेम्बरमा राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले केही टेस्ला मोडेलका ढोकामा सम्भावित त्रुटिको छानबिन सुरु गरेको थियो, किनकि रिपोर्टहरूमा ढोका ह्यान्डलले काम नगर्ने समस्या उल्लेख गरिएको थियो ।
बाउर दम्पतीका सन्तानका अनुसार टेस्ला मोडल एसको पछाडिका सिटमा बसेका यात्रुहरू- जस्तै मिशेल बाउर विशेष जोखिममा पर्थे । कारमा ढोका खोल्ने प्रणाली पूर्ण रूपमा विद्युतीय भएकाले दुर्घटनापछि जब गाडीमा विद्युत् आपूर्ति बन्द हुन्थ्यो, यात्रुहरू ढोका खोल्न असमर्थ हुने गर्थे ।
त्यस्तो अवस्थामा बाहिर निस्कनका लागि कार्पेट उठाएर मुनि लुकाइएको ‘धातुको ट्याब’ वा आपतकालीन ढोका खोल्ने ह्यान्डल खोज्नुपर्थ्यो । तर यो ट्याब सानो, लुकाइएको र सामान्य यात्रुका लागि सहज रूपमा नदेखिने भएकाले आपतकालीन अवस्थामा त्यसलाई फेला पार्नु अत्यन्तै कठिन हुने उनीहरूको भनाइ छ । यही कारणले दुर्घटनापछि यात्रुहरू गाडीभित्रै फँसेर मृत्यु हुन पुगेको आरोप परिवारले लगाएको छ ।
एक नजिकैका घरधनीले ९११ मा फोन गरी कारभित्रबाट कराउने आवाज सुनेको बयान दिएका छन् ।
उजुरीमा भनिएको छ, ‘टेस्लाको डिजाइन छनोटले यस्तो जोखिम सिर्जना गर्यो — दुर्घटनाबाट बचेका यात्रुहरू आगलागी भएको सवारीभित्रै फँस्ने ।’
अन्य प्रतिवादीहरूमा सवारी चालकको सम्पत्ति पनि समावेश छ, जसलाई बाउर सन्तानहरूले लापरवाहीपूर्वक ड्राइभिङ गरेको आरोप लगाएका छन् । यो मुद्दा विस्कन्सिन राज्यको डेन काउन्टी अदालतमा दायर गरिएको हो।
एआईमा दौड, पैसा भने अनलाइन विज्ञापनमा बर्सिदैँ !
बफेटको कम्पनीमा पैसाको वर्षा, ५४.४ लाख करोड रुपैयाँभन्दा बढी नगद जम्मा !
सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने