काठमाडौं । नेपाली कांग्रेसभित्र फेरि एकपटक आन्तरिक तानातान तीव्र बन्दै गएको छ । पार्टीको संस्थापन पक्षका नेताहरूले १५औं महाधिवेशनको मिति तोक्ने प्रस्ताव तयार पारेका छन् ।
एक केन्द्रीय सदस्यले मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रूपमा पेश गर्ने तयारी गरेको जनाएका छन् ।
सोमबार काठमाडौंमा बसेको संस्थापन पक्षीय नेताहरूको बैठकले बहुमत केन्द्रीय सदस्यहरूको समर्थनसहित महाधिवेशनको मिति प्रस्ताव तयार गर्ने निर्णय गरेको हो ।
स्रोतका अनुसार संस्थापन पक्षले आम निर्वाचनपछि वैशाख २५ मा पार्टीको महाधिवेशन गर्नेगरी मिति तोक्ने प्रस्तावको तयारी गरेको छ।
पार्टीका मधेस प्रदेश अध्यक्ष श्रीकृष्ण यादवका अनुसार आम निर्वाचनको तयारी गर्नुपर्ने बेलामा पार्टीको महाधिवेशनमा लाग्नु पार्टीका लागि हितकर हुँदैन । त्यसैले आम निर्वाचन पछाडि महाधिवेशन गर्नु पार्टी र देशका लागि राम्रो नहुने उनको भनाइ छ ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार पार्टीका पदाधिकारी र कार्यसम्पादन समितिले अझैसम्म महाधिवेशनको कार्यतालिका नल्याएकोले निकासको खोजीस्वरूप संस्थापन पक्षले यो कदम अघि सारेको हो ।
‘हामीले राख्ने प्रस्ताव नै अन्तिम हुनेछ र त्यसैअनुसार निर्णय हुनेछ भन्ने हाम्रो विश्वास छ,’ महर भन्छन् ।
उनका अनुसार प्रस्ताव नेपाली कांग्रेसको विधानअनुसार अघि बढाइनेछ र पार्टीलाई स्पष्ट दिशामा लैजाने प्रयासस्वरूप कदमहरु चालिनेछ ।
अर्कोतर्फ विशेष महाधिवेशन पक्षले भने असन्तुष्टि जनाउँदै मंगलबारको केन्द्रीय समिति बैठक बहिष्कार गर्ने संकेत दिएको छ ।
विधानले तोकेअनुसार मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका नल्याएर छलकपटको बाटो अबलम्वन गर्न थालिएको भन्दै इतर पक्ष रुष्ट भएको हो ।
जगदिशनरसिंह केसीलगायत नेताहरूले जानकारी दिएअनुसार सो समूहले मंगलबार दिउँसो साढे १२ बजे आफ्नो भेला आयोजना गर्न लागेको छ ।
नयाँबानेश्वरस्थित थापागाउँको एक पार्टी प्यालेसमा उक्त समूहको भेला आयोजना गरिएको आयोजक मध्येका एक केसीले जानकारी दिए ।