काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेनजी आन्दोलनमा लुटिएको ग्राहकको सुन बराबरको पैसा दिने तयारी थालेको छ । दुई महिनाअघि भएको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसँगैको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट १८ केजी सुन लुटिएको थियो ।
आन्दोलनका क्रममा बैंकबाट ३८ करोड रुपैयाँभन्दा बढीको नगद र १८ केजी सुनसहितको गरगहना लुटपाट भएकोमा हालसम्म ३२ लाख रुपैयाँ बराबरको मात्र सम्पत्ति बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
बैंकबाट कर्जा लिनेहरूले धरौटी स्वरूप राखेका सुनका गरगहना प्रदर्शनका क्रममा लुटिएको थियो । सुरक्षित कोठाभित्र राखिएको भल्ट फोडेर करिब १८ किलो सुनका गरगहना लुटिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले निरीक्षणका लागि बैंकमा पुगेका थिए ।
प्रहरीका अनुसार उक्त घटनामा संलग्न भएको आशङ्कामा पक्राउ परेका तीन जना व्यक्तिहरूबाट करिब ७०० ग्राम सुन बरामद भएको छ । पक्राउ परेकामध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ भने अर्का एक जना अनुसन्धानकै क्रममा छन् ।
बाँकी एक जना नाबालक रहेका कारण तारेखमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईले बताए । उनका अनुसार प्रदर्शनका क्रममा बैंकका सीसीटीभीसहित नयाँ बानेश्वर क्षेत्रका कैयौं सीसीटीभी क्यामेरामा क्षति पुगेका कारण अनुसन्धानका लागि समय लागेको छ ।
ग्राहकले यसरी पाउँछन् सम्पत्ति फिर्ता
राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी पवन रेग्मीले ग्राहकले जमानतमा राखेको गरगहना बापतको क्षतिपूर्ति दिने तयारी भइरहेको बताए ।
‘ग्राहकहरूले ल्याएर राख्नुभएको सुन चोरी भएको छ । हामीले उहाँहरूलाई सुन नै दिन नसके पनि त्यस बराबरको नगद भए पनि दिनेछौं । त्यसका लागि एउटा समिति पनि बनेको छ, त्यो समितिले छिट्टै निर्णय गरेर क्षतिपुर्ति दिनेछौं,’ उनले भने ।
सबैभन्दा महत्वपूर्ण विषय गहनासँग व्यक्तिको भावनात्मक सम्बन्ध पनि जोडिएको हुन्छ ।
‘यसअघि बैंकहरुले के कसरी फिर्ता गरेका रहेछन्, त्यो पनि हेरिरहेका छौं, केहि दिन मै समितिले निर्णय गर्छ र हामी क्षतिपुर्ति दिन्छौं, यसअघि माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि कतिपय बैंकहरु लुटिएका थिए । त्यसबेला पनि बैंकहरुले जिम्मा लिएर राखेका ग्राहकका गरगहना र नगदको क्षतिपूर्ति दिएका थिए,’ उनले विगतको अभ्यास सुनाउँदै भने ।
एउटै शाखाबाट ठूलो परिमाणको रकम लुटपाट भए पनि यो रकम बैंक आफुले नै क्षतिपुर्ति तिर्नु पर्दैन । बैंकले आफना्े भल्ट तथा लकरमा राखेका गहनाको बीमा गरेको हुन्छ ।
राष्ट्रिय वाणिज्य बैंकले पनि सबै गहनाको पूर्ण बीमा गरेको थियो । जसअनुसार बैंकले बीमा दाबी गरिसकेको छ । बीमाबाट रकम आउने हुँदा बैंक आफैले रकम हाल्नु नपर्ने रेग्मीको भनाइ छ । सेयरधनीले पनि लुटिएको रकमबाट धेरै गुमाउनु पर्ने अवस्था नभएको उनले जानकारी दिए ।