एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओ बन्न नेप्सेबाट बाहिरिए फुयाल, कम्पनी सचिवबाट पराजुलीले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कामु नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) निरञ्जन फुँयालले राजीनामा दिएका छन् । दसैँ अगाडि नै नेप्सेबाट आफूले राजीनामा दिएको फुयालले विकासन्युजसँग बताए ।

नेप्से सञ्चालक समितिको आइतबार बसेको बैठकले फुयालको राजीनामा स्वीकृत गरिसकेको छ । तर, नेप्सेका अध्यक्ष हेमन्त बस्यालको दबाबमा फुयालले राजीनामा दिएको नेप्सेका एक कर्मचारीले बताए । 

साथै, ती कर्मचारीका अनुसार मुराहरि पराजुलीले पनि नेप्सेको कम्पनी सचिव पदबाट राजीनामा दिएका छन् । विगत ४ वर्षदेखि पराजुली कम्पनी सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । आठौं तहको सहायक प्रबन्धक पराजुली नेप्सेको सूचना अधिकारीमा भने कायमै छन् ।

नेप्सेबाट बाहिरिए सँगै फुयाल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्ने तयारी रहेको स्रोतको दाबी छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी गैरआवासीय नेपालीहरूको मुख्य लगानीमा स्थापना भएको कम्पनी हो ।

हेमन्त बस्यालले राजीनामा दिएर नेप्सेको अध्यक्ष बनेपछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सीईओ पद रिक्त रहेको छ ।

Share News