काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ । यही उद्देश्यका लागि देशव्यापी रूपमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको समूहका नेताहरूले सोमबार पार्टीका वरिष्ठ नेता डाक्टर शेखर कोइरालालाई भेट गरी आफ्नो पहलको जानकारी गराएका छन् ।
समूहले मंगलबार काठमाडौंमा विशेष भेला आयोजना गर्ने तयारी गरेको छ । त्यसअघि, तयारीको सिलसिलामा उनीहरू सोमबार बिहान विशालनगरस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा पुगेका थिए ।
हस्ताक्षर अभियानका नेता मनोजमणि आचार्यले भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, 'हामी अहिले डेलिगेट्स लिएर डा. कोइरालाको सम्पर्क कार्यालय पुगेका थियौँ । उहाँसँग हाम्रो अभियानका उद्देश्य, पृष्ठभूमि र आगामी योजनाबारे विस्तृत चर्चा भयो ।'
उनका अनुसार, विशेष महाधिवेशनको माग कुनै व्यक्तिको स्वार्थमा नभई पार्टीलाई सुदृढ, अनुशासित र जनमुखी बनाउने अभियानको हिस्सा हो । 'कांग्रेसको गौरवशाली इतिहासलाई पुनर्स्थापना गर्न र आन्तरिक लोकतन्त्रलाई अझ सबल बनाउन विशेष महाधिवेशन आवश्यक भएको हाम्रो निष्कर्ष हो,' आचार्यले भने ।
हस्ताक्षर अभियानमा सक्रिय नेता आचार्यले भने, 'उहाँसँग भेटेर भर्खरै हामी फर्कियौँ । भेटमा हाम्रो टोलीले विशेष महाधिवेशन किन जरुरी छ भन्ने विषयमा विस्तृत विवरण प्रस्तुत गर्यौँ । डा. कोइरालाले हाम्रो कुरा ध्यानपूर्वक सुन्नुभयो र सकारात्मक सन्देश दिनुभयो ।'
आचार्यका अनुसार, अभियानले देशका सबै ७७ जिल्लामा पार्टी सदस्यहरूबीच संवाद र हस्ताक्षर संकलनको कार्यक्रम सञ्चालन गरिरहेको छ । अभियानको मूल उद्देश्य आगामी विशेष महाधिवेशनमार्फत पार्टीको नीति, संगठन र नेतृत्व शैलीमा सुधार ल्याउनु रहेको उनले बताए ।
नेता शेखर कोइरालाले भेटका क्रममा समूहका नेताहरूलाई पार्टीभित्रको असन्तुष्टि र सुधारका मागलाई संवैधानिक र लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढाउन सुझाव दिएका बताइएको छ । पार्टीभित्र संवाद र सहकार्यकै माध्यमबाट समस्या समाधान गर्नुपर्ने उनको धारणा रहेको स्रोतहरूले जनाएका छन् ।
नेपाली कांग्रेसभित्र पछिल्लो समय महाधिवेशनपछि नेतृत्व र संगठन संरचनाबारे असन्तुष्टि बढ्दै गएको छ । कतिपय नेता तथा कार्यकर्ताहरूले पार्टीको निर्णय प्रणालीमा पारदर्शिता, युवाको सहभागिता र संगठनको पुनर्संरचनाका लागि विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।
हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको समूहले हालसम्म विभिन्न प्रदेशमा व्यापक समर्थन प्राप्त गरेको दाबी गरेको छ । मंगलबार काठमाडौंमा हुने विशेष भेलामा अभियानमा संलग्न प्रतिनिधिहरू, जिल्ला नेताहरू र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।
समूहका अनुसार, उक्त भेलाले विशेष महाधिवेशनको तयारी, हस्ताक्षर संकलनको प्रगति र आगामी रणनीतिबारे निर्णय लिनेछ । उनीहरूले नेपाली कांग्रेसलाई लोकतान्त्रिक अभ्यासको नमूना बनाउने आफ्नो अभियान निरन्तर जारी रहने जनाएका छन् ।