५ हेलिकप्टर मार्फत मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार

काठमाडौं । गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आइतबार ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो । 

‘मौसम खुल्नासाथ उद्धार कार्य सुरु गरेका थियौँ । ५ हेलिकप्टर मार्फत पर्यटकको उद्धार गरियो । जसमध्ये ८५ प्रतिशत विदेशी पर्यटक थिए,’ निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने । 

मौसम सफा भएसँगै केही पर्यटक लार्केपास गरी मनाङ झरेका छन् । केही भने आरु घाटतर्फ फर्कँदै गरेका सहायक प्रजीअ बरालले जानकारी दिए । एक/दुई दिनभित्रमा उद्धार कार्य सम्पन्न हुने उनको भनाइ छ । 

आइतबार मौसम खुलेपछि गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, होटल व्यवसायी उपसमिति, स्थानीय युवा मिलेर बाटो खोल्ने काम गरिरहेका चुमनुब्री गाउँपालिका-१ साम्दोका पर्यटन व्यवसायी निमा दोर्जे लामाले बताए । उनीहरू गत मङ्गलबारदेखि परेको हिमपातले ढाकिएका र पहिरोले पुरिएका बाटो सफा गर्न गएका उनले जानकारी दिए । 

‘आइतबार कतिपय पैदलमार्फत आरु घाटतर्फ झरे । बिरामी, अशक्तलाई हेलिकोप्टरबाट उद्धार गरियो । ३८० जना भने साम्दोबाट लार्केपास गर्न धर्मशालातर्फ गएका छन् । उनीहरू लार्केपास गरेर मनाङ झर्छन्,’ पर्यटन व्यवसायी लामाले भने । 

साम्दोमा पर्यटक आउने क्रम नरोकिएको उनको भनाइ छ ।  यो याममा (भदौ १६ देखि कात्तिक १५ सम्ममा) ६ हजार ४१४ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्कमा उल्लेख छ । हाल उक्त क्षेत्रमा सयौं पर्यटक रहेका छन् ।

तातोपानीबाट ३५ पर्यटकको उद्धार

गोरखाको तातोपानी क्षेत्रमा अलपत्र परेका ३५ स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरिएको छ । धार्चे गाउँपालिका-३ तातोपानीबाट नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले २० विदेशी र १५ नेपाली पर्यटकको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनीहरू सामा गाउँबाट माछी खोलातर्फ आउने क्रममा पहिरोका कारण तातोपानीमा अलपत्र परेका हुन् ।

पर्यटक अलपत्र परेको जानकारी प्राप्त हुना साथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आरु घाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछी खोलातर्फ पठाइएको थियो । उद्धार गरिएका पर्यटकको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

Share News