काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित नुन खानी खोँचमा पहिरो जाँदा नरसिंह खोला थुनिएको स्थानीय प्रशासनले जनाएको छ ।
शनिबार रातिदेखि खोला थुनिएर थुनिएको स्थान भन्दा मुनी पानी सुकेको स्थानीयले आइतबार बिहान जानकारी गराएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
‘खोलाको पानी पुरै थुनिएको छ, अलिअलि मात्रै रसाएको देखिन्छ । आइतबार दिउँसो नेपाली सेनाको ड्रोनमार्फत थुनिएको स्थान खोजी गर्याे । नुन खानी नजिक दुईतर्फी पहिरो गएर खोलाको पानी ताल बनेको पाइयो,’ प्रजीअ भुसालले भने ।
सेनाले खोला थुनिएर ताल बनेको स्थानको तत्काल विश्लेषण गर्दा सोमबारसम्म ताल नभरिने र नफुट्ने जानकारी प्राप्त गरेको प्रजीअ भुसालले बताए । सेनाको ड्रोनमार्फत लिएको तस्बिर हेर्दा खासै ठुलो ताल बनेको जस्तो नदेखिएको उनको भनाइ छ ।
खोलाको पानी सुकेसँगै खोलातर्फको सडकबाट आउजाउ गर्ने सवारी साधन नचलाउन र मानिसलाई ओहोरदोहोर नगर्न जिल्ला प्रशासनले सूचना जारी गरेको छ । वारागुङ-३ स्थित प्राचीन नुन खानी तेताङ गाउँको उत्तर/पूर्वमा पर्छ । तेताङबाट पैदल एक घण्टा यात्रामा पुग्ने सकिने नुन खानी दुई अग्ला अग्ला विशाल पहाडको खोँचमा पर्छ ।
‘थुनिएको खोलाको ताल फुटेर तल छुसाङको तटीय बस्तीमा हुने जोखिम कम भएको हामीले विश्लेषण गरेका छौँ, आज बिहान नुन खानीमा पुगेर थुनिएको स्थानलाई निकास दिने विकल्प खोज्छौँ,’ प्रजीअ भुसालले भने । सो स्थान छुसाङबाट डेढ घण्टाको पैदल दुरीमा पर्छ ।