प्रधानमन्त्री कार्की र सातै मुख्यमन्त्रीबीच संवाद सुरु

काठमाडौं । देशको संघीय अभ्यासलाई अझ प्रभावकारी बनाउन प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीचको महत्त्वपूर्ण उच्चस्तरीय बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री कार्कीले हालको परिवर्तित अवस्थालाई ध्यानमा राख्दै संघ र प्रदेश सरकारबीच संवाद, सहकार्य र साझेदारीलाई सुदृढ बनाउन यो बैठक आह्वान गरेकी हुन् ।

बैठक केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा प्रदेश सरकारका प्रमुख चुनौती, संघीय समन्वयका अवरोध र आगामी कार्ययोजनासम्बन्धी विषयमा खुला छलफल र सुझाव आदान–प्रदान भइरहेको सचिवालयले जनाएको छ ।

बैठकमा सहभागी मुख्यमन्त्रीहरू कोशी प्रदेश हिक्मतबहादुर कार्की, मधेश प्रदेश जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेश इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेश सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेश चेतनारायण आचार्य, कर्णाली प्रदेश यमलाल कँडेल र सुदूरपश्चिम प्रदेश कमलबहादुर शाह बैठकमा सहभागी रहेको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।

बैठकले आगामी दिनमा संघीय शासन प्रणालीलाई अझ संवेदनशील, जनमुखी र परिणाममुखी बनाउन ठोस मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ ।

Share News