श्रम अदालतको आदेशविरुद्ध नेप्से सर्वोच्चमा, सीईओ र अध्यक्ष कार्यालयमा प्रवेश

काठमाडौं । श्रम अदालतको आदेशविरुद्ध नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सर्वाेच्च अदालत पुगेको छ । श्रम अदालतले गत असार ५ गते कर्मचारीहरूको पक्षमा गरेको फैसलाविरुद्ध नेप्से सञ्चालक समितिले सर्वाेच्च अदालतमा पुनरावेदन दायर गरेको हो ।

नेप्सेले कर्मचारीहरूलाई अर्थमन्त्रालयको स्वीकृति लिएर वार्षिक १ प्रतिशत बोनस सेयर वितरण गर्दै आएको छ । तर, नेप्सेले राम्रो नाफा गरिरहेको हुँदा कर्मचारीहरूले ५ प्रतिशतसम्म बोनस पाउनुपर्ने माग गरिरहेका छन् । नेप्से सञ्चालक समितिले कर्मचारीहरूको उक्त मागलाई विगतमै खारेज गरेको थियो ।

बोनस वितरणमा विवाद उत्पन्न भएपछि बोनस ऐन २०३० को दफा १६ बमोजिम नेप्सेका कर्मचारीहरू श्रम कार्यालयमा पुगेका थिए । तर, श्रम कार्यालयले कर्मचारीहरूको विरुद्धमा निर्णय सुनाएपछि बोनस ऐन २०३० दफा १६ को उपदफा ३ बमोजिम श्रम अदालत पुगेका थिए । श्रम अदालतले वर्षाैंपछि २०८२ असार ५ गते नेप्सेका कर्मचारीहरूको पक्षमा फैसला सुनायो भने श्रम कार्यालय काठमाडौंको निर्णय नमिलेको भन्दै बदर गर्याे। 

श्रम अदालतको फैसलालाई नेप्से सञ्चालक समितिले कार्यान्वयनमा लैजान खोज्यो । तर, बोनस नियमावलीमा सरकार मातहत रहेका संस्थानले बोनस वितरण गर्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने निर्णयले अदालतको फैसला कार्यान्वयनमा बाधा पुगेपछि गत असोज ३ गते नेप्से सञ्चालक समितिले श्रम अदालतको फैसला विरुद्ध सर्वाेच्च अदालत जाने निर्णय गर्याे । 

सञ्चालक समितिले गैरकानुनी निर्णय र श्रम अदालतको अपहेलना गरेको भन्दै कर्मचारूहरूले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईं र अध्यक्ष हेमन्त बस्याल विरुद्ध आन्दोलन गरे । तर, कर्मचारीहरूको आन्दोलन जारी रहेकै बेला श्रम अदालतको गत असार ५ गतेको फैसला विरुद्ध सर्वाेच्चमा पुनरावेदन दायर गरेपछि ३७ औँ दिनमा आन्दोलन स्थगित गर्न कर्मचारीहरू बाध्य भएका हुन् । 

अदालतमा विचाराधीन मुद्दामा आन्दोलन नगर्ने विवेक आएपछि पछि हटेको नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापा बताउँछन् । सर्वाेच्च अदालतमा रिट दायर भएको फाइल आफूहरूले बुझेको र आन्दोलन जारी राख्दा अदालत प्रभावित हुन सक्ने भएकाले स्थगित गर्नु परेको उनको भनाइ छ ।

‘सर्वाेच्च अदालतमा रिट दायर भएको फाइल प्राप्त भएको छ । मुद्दाको फाइल पनि बुझ्ने र आन्दोलन पनि गरिराख्दा अदालत प्रभावित हुन सक्ने भएकाले आन्दोलन स्थगित गरेका हौं,’ उनले भने, ‘अब मुद्दामै जाने निर्णय गरियो । वर्तमान परिप्रेक्षमा यो आन्दोलनबाट संस्थाले जितेको छ । सेवा सुविधा भन्ने विषय पछाडिको विषय हो । अब अदालती प्रक्रियामा गइ सकेपछि जितेर ल्याउँछौँ भन्ने हाम्रो आशा छ ।’ 

आन्दोलन स्थगित गरेपछि नेप्सेका सीईओ चापागाईं र अध्यक्ष बस्याललाई कार्यालय प्रवेश गर्न दिएको उनले बताए । साथै, नेप्सेका अध्यक्ष र सीईओसँग वार्तामा बस्ने तयारी भइरहेको उनको भनाइ छ । साथै, नेप्सेको आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन दबाब दिने उनले बताए ।

‘सीईओ र अध्यक्षलाई कार्यालय प्रवेश गर्न दिएका छौं । साथै अध्यक्ष र सीईओसँग वार्तामा बस्ने तयारी हुँदैछ,’ उनले भने, ‘अब संस्थामा रोकिएका कामहरू तत्काल अघि बढ्छन् । नेप्सेको आईपीओ निष्काशनको प्रक्रिया छिटोभन्दा छिटो बढाउनुपर्ने देखियो ।’ 

Share News