नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुल्नेछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरकाे मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हाे ।

नेप्सेका अनुसार गुराँस लघुवित्तको १४.२५ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोनस सेयर समायोजन गरिएको हो । समायोजन पश्चात गुराँस लघुवित्तको सेयर मूल्य २ हजार २१.८८ रुपैयाँ र मुक्तिनाथ कृषिको १ हजार ४५८.३३ रुपैयाँ कायम भएको छ । समायोजित मूल्यमा आज आइतबार सेयर कारोबार खुल्नेछ ।

नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा यी दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । बिहीबार गुराँस लघुवित्तको प्रतिकित्ता २ हजार ३१० रुपैयाँ र मुक्तिनाथ कृषि कम्पनीको १ हजार ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

गुराँस लघुवित्त वित्तीय संस्थाले कात्तिक २३ गते धनकुटामा १०औँ वार्षिक साधारण सभा बिहान ९ बजे डाकेको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

मुक्तिनाथ कृषि कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ ।

Share News