विश्वको पहिलो ५ ट्रिलियन डलर कम्पनी बन्यो एनभीडीया, अमेरिकाको जीडीपीको १६ प्रतिशत बराबर

एनभीडीयाका सीईओ जेन्सेन हुआङ । फाइल तस्बिर

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) चिप बनाउने अमेरिकी कम्पनी एनभीडीयाको बजार मूल्य (मार्केट क्याप) हालै ५ ट्रिलियन डलर पुगेको छ । संसारमा पहिलोपटक कुनै कम्पनी यो स्तरमा पुगेको हो । 

एनभीडीयाको बजार मूल्य अमेरिकाको कुल जीडीपीको १६ प्रतिशत बराबर भइसकेको छ । यो प्रतिशत पछिल्ला दुई वर्षमा दोब्बर भएको हो । ३० नोभेम्बर २०२२ मा जब च्याटजीपीटीको सुरुवात भएको थियो, त्यतिबेला एनभीडीयाको बजार मूल्य अमेरिकाको जीडीपीको मात्र ४ प्रतिशत बराबर थियो ।

एनभीडीयाका एआई चिपहरूको उच्च मागका कारण कम्पनीको बजार मूल्य तीव्र रूपमा बढेको हो । यही कारणले कम्पनीलाई ४ ट्रिलियन डलरबाट ५ ट्रिलियन डलरसम्म पुग्न मात्र तीन महिना लागेको हो । 

यसअघि कम्पनीलाई ३ ट्रिलियन डलरबाट ४ ट्रिलियन डलरसम्म पुग्न १३ महिना लागेको थियो । यस वर्ष कम्पनीका सेयरहरूमा करिब ५० प्रतिशत वृद्धि भएको छ र यो पछिल्ला केही वर्षदेखि एसएन्डपी ५०० सूचकांकमा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीहरूमध्ये एक रहिआएको छ । 

विश्वभर एआईको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ, जसका कारण आगामी दिनमा एनभीडीयाका सेयरहरू अझ बढ्ने अपेक्षा गरिएको छ ।

एनभीडीयाले बनाउने चिपहरूलाई ग्राफिक्स प्रोसेसिङ युनिट्स (जीपीयू) भनिन्छ, जुन एआई उद्योगको मेरुदण्ड मानिन्छ । विश्वका सबै देशहरू चिप आपूर्ति शृंखलामा आफ्नो प्रभुत्व जमाउन चाहन्छन् । अमेरिका र चीनबीचको वास्तविक प्रतिस्पर्धा पनि यही क्षेत्रमा केन्द्रित छ ।

एनभीडीयाको मुख्यालय अमेरिकाको क्यालिफोर्निया राज्यको सान्टा क्लारामा रहेको छ । यसको स्थापना सन् १९९३ मा ताइवानी इन्जिनियर जेनसन हुआङले गरेका थिए । एनभीडीयामा उनको करिब ३.५ प्रतिशत हिस्सेदारी छ । उनी १७६ अर्ब डलरको नेटवर्थका साथ विश्वका धनी व्यक्तिहरूको सूचीमा नवाैं स्थानमा छन् ।

सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने

Share News