एकीकृत समाजवादीभित्र माओवादी केन्द्रसँग एकताको विपक्षमा १४ नेता खुले, १५० पुग्ने आँकलन

काठमाडौं । नेकपा एकीकृत समाजवादीभित्र माओवादी केन्द्रसँग हुने भनिएको एकताको विषयमा गम्भीर मतभेद उत्पन्न भएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा १४ जना प्रमुख नेताहरूले खुलेर एकताको विरोध गरेका छन् । 

एकताको विपक्षमा उभिएका नेताहरूले पार्टीको स्वतन्त्र अस्तित्व, वैचारिक स्पष्टता र संगठनात्मक पहिचान जोगाउनुपर्ने तर्क गर्दै तत्काल एकता सम्भव नदेखिएको बताएका छन् । 

एक नेताका अनुसार पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीका गरेर १५० भन्दा धेरै नेताहरु अध्यक्ष नेपालको एकता प्रस्तावको विपक्षमा रहेका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३४३ सदस्यीय रहेको छ ।

सुकेधारामा जारी केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालले एकीकृत समाजवादीलाई बचाउनुपर्ने राय व्यक्त गरेसँगै अरू नेताहरू पनि उक्त विचारमा सहमत हुँदै गएका छन् ।

शीर्ष नेताहरूसँगै पार्टीका अन्य तहका नेताहरू पनि एकताको विरोधमा खुलेको एक नेताले बताएका छन् । पूर्वपदाधिकारी तथा पोलिटब्युरो सदस्यहरू डाक्टर विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठले पनि अध्यक्ष नेपालको एकता सम्बन्धी आह्वानको विरोध गरेका छन् ।

जारी बैठकमा बोल्ने पोलिटब्युरो सदस्यहरू लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिर, दामोदर अर्याल, धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामाले पनि नेकपा समाजवादीमा पुनर्गठन आवश्यक रहेको भन्दै एकताको विपक्षमा विचार व्यक्त गरेका थिए ।

यी सबै नेताहरूले माओवादी केन्द्रसँगको एकता हडबडीमा गरिएको निर्णय भएको दाबी गर्दै पार्टीले आफ्नै नीतिगत दिशा र संगठनात्मक सुदृढीकरणमा ध्यान दिनुपर्ने बताएका छन् ।

बैठकमा ती नेताहरूले एकताको सट्टा पार्टीभित्रको आन्तरिक सुदृढीकरण, नीति समीक्षा र जनतामाझ विश्वास पुनःस्थापनामा जोड दिनुपर्ने प्रस्ताव पनि राखेका छन् ।

Share News