सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने

५० हजार जीपीयू प्रयोग गरिने

काठमाडौं । दक्षिण कोरियाली प्रमुख सेमिकन्डक्टर कम्पनी सामसुङ​​​​​​ले बिहीबार मोबाइल उपकरण र रोबोटका लागि चिप उत्पादनमा सुधार गर्न ५० हजार एनभीडीया ग्राफिक प्रोसेसिङ युनिट (जीपीयू) खरिद गरी स्थापना गर्ने योजना बनाएको घोषणा गरेको छ ।

यी ५० हजार एनभीडीया जीपीयू प्रयोग गरी सामसङले ‘एआई मेगाफ्याक्ट्री’ नामक एक नयाँ सुविधा (फ्यासिलिटी) निर्माण गर्ने बताएको छ । कम्पनीले यो सुविधा कहिले निर्माण सुरु गर्ने भन्ने विवरण भने खुलाएको छैन ।

यो कदम एनभीडीयाका लागि अर्को ठूलो साझेदारीको रूपमा आएको हो, जसका चिपहरू उन्नत कृत्रिम बौद्धिकता (एआई) निर्माण र सञ्चालनका लागि अत्यावश्यक बनेका छन् ।

सामसङसँगको यो सहकार्य एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले मंगलबार वासिङटन डीसीमा दिएको घोषणापछि आएको हो, जहाँ उनले  पलान्टिर, एली लिली, क्राउडस्ट्राइक, उबरजस्ता कम्पनीहरूसँग पनि सहकार्य भइरहेको बताएका थिए ।

स्थानीय मिडियाका अनुसार उक्त भाषणपछि हुआङ दक्षिण कोरियामा सामसङका अध्यक्ष ली जे–योंग र अन्य व्यापारिक नेतासँग बियर पिएको अवस्थामा देखिएका थिए । एनभीडीयाका अनुसार अन्य कोरियाली कम्पनीहरू जस्तै एसके ग्रुप र ह्युन्डाई पनि यस्तै मात्राको जीपीयू प्रयोगमा छन् ।

एनभीडीयाका एसिया–प्यासिफिकका वरिष्ठ उपाध्यक्ष रेमण्ड तेहले बुधबार पत्रकारहरूसँगको कुराकानीमा भने, ‘हामी कोरियाली सरकारसँग मिलेर एआई क्षेत्रमा त्यसको महत्त्वाकांक्षी नेतृत्व योजनालाई सहयोग पुर्याइरहेका छौं ।’

यी साझेदारहरूले हुआङको मंगलबारको दाबीलाई समर्थन गर्छन् कि एनभीडीयासँग हालको पुस्ताको ब्ल्याकवेल जीपीयू र आगामी पुस्ताको रुबिन जीपीयूबाट मात्रै ५०० अर्ब अमेरिकी डलर बराबरको कारोबार सुनिश्चित भएको छ ।

यसै पूर्वानुमानका कारण एनभीडीयाको सेयर मूल्य बढ्दै कम्पनी ५ ट्रिलियन अमेरिकी डलर बजार मूल्य पुगेको पहिलो कम्पनी बनेको छ ।

बिहीबार एनभीडीयाका प्रतिनिधिहरूले भने कि उनीहरूले सामसङसँग सहकार्य गरी त्यसको चिप निर्माणमा प्रयोग हुने लिथोग्राफी प्लेटफर्मलाई एनभीडीया जीपीयू अनुरूप अनुकूल बनाउनेछन् । उक्त प्रक्रिया पछि सामसङको प्रदर्शनमा २० गुणासम्म सुधार आउने जनाइएको छ ।

सामसङले एनभीडीयाको ओम्निभर्स नामक सिमुलेशन सफ्टवेयर पनि प्रयोग गर्नेछ । मोबाइल फोनका लागि प्रसिद्ध सामसङले आफ्ना उपकरणहरूका लागि आफ्नै एआई मोडेल सञ्चालन गर्न पनि एनभिडियाका जीपीयू प्रयोग गर्ने जनाएको छ ।

एनभीडीयाको साझेदार र ग्राहक मात्र नभई सामसङ त्यसको मुख्य आपूर्तिकर्ता पनि हो ।

सामसङले एनभीडीयाका एआई चिपहरूसँग प्रयोग हुने हाई–ब्यान्डविड्थ मेमोरी (एचबीएम) उत्पादन गर्छ । कम्पनीले भनेको छ कि एनभीडीयासँग मिलेर उक्त मेमोरीको चौथो पुस्ता एआई चिपहरूमा प्रयोग गर्न अझ परिष्कृत गर्नेछ ।

ट्रम्पले परमाणु परीक्षण पुनः सुरु गर्न आदेश दिएपछि रूस ‘रेड अलर्ट’ मा

Share News