काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० वर्षभन्दा लामो विरामपछि अमेरिकालाई पुनः परमाणु परीक्षण सुरु गर्न आग्रह गरेपछि रूस सतर्क बनेको छ । क्रेमलिनले बिहीबार चेतावनी दिएको छ कि यदि शीतयुद्धकालीन परमाणु परीक्षण रोकको सम्झौता तोडियो भने ‘उपयुक्त रूपमा प्रतिक्रिया’ दिनेछ ।
चीनका राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय वार्ताको अघिल्लो दिन ट्रम्पले एसियाबाट ‘युद्ध विभाग’ (पूर्व पेन्टागन) लाई परमाणु परीक्षण पुनः सुरु गर्न निर्देशन दिएको घोषणा गरेका थिए ।
ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेखेका छन्, ‘संयुक्त राज्यसँग अरू कुनै पनि देशभन्दा बढी परमाणु हतियार छन् ... रूस दोस्रो र चीन टाढाको तेस्रो स्थानमा छ, तर ५ वर्षभित्र नजिक आउनेछ । अन्य देशहरूका परीक्षण कार्यक्रमका कारण मैले युद्ध विभागलाई समान स्तरमा हाम्रो परमाणु हतियार परीक्षण सुरु गर्न निर्देशन दिएको छु । त्यो प्रक्रिया तुरुन्त सुरु हुनेछ ।’
त्यसअघि बिहीबारै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई पत्रकारहरूले ट्रम्पको उक्त घोषणाबारे प्रतिक्रिया सोधेका थिए ।
पेस्कोभले भनेका छन्, ‘ट्रम्पले आफ्नो बयानमा अन्य देशहरूले पनि परमाणु हतियार परीक्षण गरिरहेको आरोप लगाएका छन् । अहिलेसम्म हामीलाई कसैले केही परीक्षण गरिरहेको जानकारी थिएन ।’
‘यदि ‘बुरेभेस्टनिक’ परीक्षणको उल्लेख गरिएको हो भने त्यो कुनै पनि हिसाबले परमाणु परीक्षण होइन,’ उनले थपे ।
उनका अनुसार ‘सबै देशहरूले आफ्नो सुरक्षा प्रणाली विकास गरिरहेका छन्, तर यो परमाणु परीक्षण होइन ।’
पेस्कोभले भने, ‘अमेरिकालाई आफ्ना स्वतन्त्र निर्णय गर्ने अधिकार छ ।’ तर उनले राष्ट्रपति भ्लादिमिर पुटिनको पूर्व भनाइ दोहोर्याए — ‘यदि कसैले परीक्षण रोक सम्झौता त्याग्छ भने रूस पनि त्यसअनुसार प्रतिक्रिया दिनेछ ।’ तर उनले त्यस प्रतिक्रियाको स्वरूप खुलाएनन् ।
नयाँ शस्त्र दौड सुरु ?
पेस्कोभलाई पश्चिमासँग नयाँ शस्त्र दौड सुरु हुने हो कि भनेर सोध्दा उनले भने, ‘होइन ।’ यद्यपि दशकौंदेखि परमाणु हतियार विकास, परीक्षण र आधुनिकीकरण रोक्ने प्रयासहरूका बाबजुद विश्व शक्तिहरूबीच तनाव बढ्दै आएको छ ।
१९६३ मा अमेरिका, बेलायत र रूसले हस्ताक्षर गरेको पार्शियल टेस्ट ब्यान सन्धिले भूमिगत बाहेक सबै प्रकारका परमाणु परीक्षणहरूमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि बनेको कम्प्रिहेन्सिभ न्यूक्लियर टेस्ट–ब्यान सन्धिमा हालसम्म १७८ देशले अनुमोदन गरेका छन् । अमेरिकाले १९९२ मा आधिकारिक रूपमा परीक्षण बन्द गरेको थियो र चीन तथा रूसले पनि त्यसयता कुनै परीक्षण गरेको जनाइएको छैन ।
तर २०२३ मा रूसले उक्त सन्धिबाट आफ्नो अनुमोदन फिर्ता लियो र अमेरिकाको ‘वैश्विक सुरक्षाप्रति नकारात्मक दृष्टिकोण’ लाई कारण बतायो । तथापि रूसले आफूले परीक्षण पुनः सुरु गर्ने वा नगर्ने बारे स्पष्ट बताएन ।
परमाणु प्रतिस्पर्धा र नयाँ जोखिम
विश्व शक्तिहरूबीचको तनाव र भारत, पाकिस्तानजस्ता अप्रसारित देशहरू (ती देशहरू जसले कुनै सन्धि, सम्झौता, वा अन्तर्राष्ट्रिय सन्देश/सूचना प्रसारणमा भाग लिएका छैनन् वा त्यसको जानकारी बाहिर पठाएका छैनन्) ले पनि परमाणु हतियार विकास गरिरहेका कारण आधुनिक परमाणु प्रणालीहरूको जोखिम अझै बढ्दो छ ।
ट्रम्पको घोषणा रूसले गत हप्तामात्र गरेको ‘बुरेभेस्टनिक’ लामो दूरीको क्रूज मिसाइल परीक्षणपछि आएको हो — जसलाई परमाणु वा परम्परागत दुवै प्रकारका वारहेड बोक्न सक्ने भनिएको छ ।
रूसले दाबी गरेको छ कि उक्त मिसाइल ‘अजेय’ छ, ‘असीमित दूरी’ सम्म पुग्न सक्छ र हवाई तथा मिसाइल प्रतिरक्षा प्रणालीलाई छल्न सक्षम छ ।
ट्रम्पले त्यसबारे असन्तोष जनाउँदै भने, ‘रूसले यूक्रेनमा युद्ध अन्त्य गर्ने दिशामा ध्यान दिनु पर्छ ।’
ट्रम्प–सी वार्ता र मस्कोको चासो
सोही दिन मस्कोले सावधानीपूर्वक हेरेको देखिन्थ्यो किनभने उसका दीर्घकालीन सहयोगी चीनका राष्ट्रपति सी जिनपिङ र ट्रम्पबीच दक्षिण कोरियामा मैत्रीपूर्ण वार्ता भएको थियो ।
रूसले यूक्रेनसँगको युद्धविराम प्रस्ताव नमान्दा असन्तुष्ट हुँदै हालसालै ट्रम्पले पुटिनसँगको वार्ता रद्द गरेका थिए । तर उनले सी जिनपिङसँगको वार्तालाई ‘अद्भूत’ र ‘धेरै विषयमा सहमति भएको’ भन्दै प्रशंसा गरे ।
ट्रम्पले चीनसँग दुर्लभ धातु (रेयर अथ्र्स) आपूर्तिमा १ वर्षको सम्झौता गरेको र फेन्टानिल सम्बन्धी कर आधा घटाएको बताए — जसले गर्दा चीनबाट आयात हुने वस्तुहरूमा कुल शुल्क ४७ प्रतिशतमा झरेको छ ।
चीनले पनि ‘अमेरिकी ऊर्जाको खरिद प्रक्रिया सुरु गर्ने’ वाचा गरेको ट्रम्पको भनाइ थियो ।
उनले भने, ‘अलास्काबाट तेल र ग्याँस खरिदसम्बन्धी ठूलो सम्झौता हुनसक्छ ।’
ट्रम्प–सी वार्ताको यो नतिजा मस्कोका लागि सुखद खबर होइन किनभने रूसले चीनलाई आफ्नो प्रमुख भूराजनीतिक र व्यापारिक साझेदारको रूपमा राखेको छ — विशेषतः २०२२ को यूक्रेन आक्रमणपछि पश्चिमबाट अलग्गिएको स्थितिमा ।
यूक्रेन युद्धबारे ट्रम्पले भने, ‘यो विषय उठ्यो’ र चीनसँग मिलेर ‘मानवहत्या रोक्ने’ प्रयास गर्ने बताएका छन् । तर उनले थकान जनाउँदै भने, ‘दुवै पक्ष लडिरहेका छन् र कहिलेकाहीँ त तिनीहरूलाई लड्नै दिनुपर्छ जस्तो लाग्छ । पागलपन ।’
६ वर्षपछि ट्रम्प र सीबीच भेट : शक्ति सन्तुलन र आपसी निर्भरता पुनः परिभाषित गर्ने प्रयास