सांग्रिला डेभलपमेन्ट बैंकले मनायो २१ औं वार्षिकोत्सव, कर्मचारीलाई सम्मान

काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंकले २१ औं वार्षिकोत्सव मनाएको छ । बैंकले बिहीबार बालुवाटारस्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममार्फत मनाएको हो । 

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यात्रा सफल बनाउन साथ दिने सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा बैंक अझ बलियो हुने विश्वास व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अहिलेसम्मको यात्रामा साथ दिने सबै सञ्चालक, कर्मचारी, ग्राहक, नियमनकारी निकाय तथा सेयरधनीलाई धन्यवाद दिए । उनले बैंकको सम्बन्धलाई अझ प्रगाढ र आधुनिक सेवासहित सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

वार्षिकोत्सवको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले 'न्यानोपन जोड्दै आफ्नोपन' अभियानको घोषणा गरेको छ । यस अभियान अन्तर्गत लिड फर नेपाल संस्थासँगको सहकार्यमा बैंकका १० वटा क्लस्टरमार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो प्रभावित नागरिकलाई प्रदान गरिने छ । बैंकले आफ्नै तर्फबाट ज्याकेट लगायतका कपडासमेत उपलब्ध गराउनेछ ।

साथै, वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए । बैंकमा सेवाको ५, १० र १५ वर्ष पूरा गरेका २० जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

बैंकको सेवाप्रवाह हाल १०९ शाखा र ३० एटीएममार्फत भइरहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा उत्कृष्ट अभ्यास पालना गर्दै बैंकले आगामी दिनमा सेवाको विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

Share News