काठमाडौं । निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व सुनिश्चित भएको छ ।
महासंघले कार्त्तिक २ गते गृह मन्त्रालयमा पत्राचार गरी केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको थियो ।
सोही मागअनुसार सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई बिहीबार परिपत्र जारी गर्दै जिल्लास्तरीय सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा उद्योग वाणिज्य संघ लगायतका व्यवसायीहरूको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न निर्देशन दिएको हो ।
महासंघले निजी क्षेत्रको सुरक्षासम्बन्धी प्रत्याभूतिको विषयमा गृह मन्त्रालयले गरेको निर्णयप्रति आभारसमेत व्यक्त गरेको छ ।
महासंघका अनुसार यो निर्णयले निजी क्षेत्रको सुरक्षाबारे सरकार र व्यवसायीबीच प्रत्यक्ष संवाद र सहकार्यको वातावरण बलियो बनाउनेछ ।
महासंघले विगतदेखि नै जिल्ला स्तरका सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा व्यवसायी समुदायको प्रत्यक्ष सहभागिताको आवश्यकता औंल्याउँदै आएको थियो ।
‘यस निर्णयबाट व्यवसायीहरूको मनोबल बढ्नेछ र अर्थतन्त्र चलायमान हुने विश्वास लिएका छौं,’ महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले भने, ‘यसका लागि हामी गृह मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।’
महासंघले साथै सबै जिल्लास्थित उद्योग वाणिज्य संघहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरी आवश्यक समन्वय गर्न पनि आग्रह गरेको छ ।
यस निर्णयले केन्द्रदेखि स्थानीय तहसम्म सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई संस्थागत रूप दिने र व्यावसायिक सुरक्षाको वातावरण सुदृढ पार्ने अपेक्षा गरिएको छ।