अब शाखा धाउनु पर्दैन, बैंकले घरमै पुर्‍याउनेछ पैसा

विदेशबाट पनि अर्डर गरेर घरमा सेवा

काठमाडौं । तपाईंलाई पैसा चाहियो ? कि तपाईंसँग भएको नगद रकम बैंकमा जम्मा गर्नुपर्याे ? नयाँ चेक बुक आवश्यक परेको छ ? कि बैंक स्टेटमेन्ट हेर्नुपर्याे ? वा अन्य कुनै बैंक सेवाको खाँचो परेको छ ? तपाईंलाई यी वा यस्तै बैंकिङ सेवाको आवश्यकता परेको छ तर बैंकसम्म जान समय छैन ? अब काम व्यस्तताले बैंकसम्म जान सक्नु भएन भने ढुक्क हुनुस्, तपाईंको घरमै आएर बैंकिङ सेवा दिनेछ कामना सेवा विकास बैंकले ।

कामना सेवा विकास बैंकले विशिष्ट बचत खाता अन्तर्गत नेपालमै पहिलोपटक ‘डुअर स्टेप बैंकिङ सर्भिस’ प्रडक्ट ल्याएको छ । दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैंकिङ सुविधा लिन चाहने ग्राहकहरूका लागि बैंकले यो सुविधा ल्याएको हो ।

अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत बैंकले नगद जम्मा गर्ने, खाताबाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधा ग्राहकको घर वा कार्यालयमा नै गएर प्रदान गर्ने नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विनय दाहाल बताउँछन् ।

‘यो प्रडक्ट मोबाइल एपमा नै उपलब्ध छ । कुनै पनि ग्राहकले बैंक खाता खोलि सकेपछि नगद झिक्ने, झिक्ने​​​​​​ जम्मा गर्ने, चेकबुक, स्टेटमेन्ट लगायत सेवा आवश्यक पर्याे भने मोबाइल एपबाटै अर्डर वा रिक्वेस्ट गर्न सक्नु हुन्छ । त्यसपछि ग्राहकले मागेको सुविधालाई बैंकले सम्बन्धित ग्राहक भएको ठाउँमा डेलिभरी गर्नेछ,’ डीसीईओ दाहालले भने ।

उनका अनुसार यो सुविधा सहकारी संस्थाले दिने भन्दा नितान्त फरक छ । कसरी भन्दा यस योजनामा सबै रेकर्ड हुन्छ । कुन समयमा अर्डर गरिएको छ भनेर समय पनि देखिन्छ । जस्तो कुनै ग्राहकलाई पैसा जम्मा गर्नुपर्नेछ भने सम्बन्धित ग्राहकले आफ्नो मोबाइल एपबाट अर्डर गर्नुपर्ने हुन्छ । त्यसपछि बैंकका कर्मचारीहरू ग्राहक भएको ठाउँमा पुगेर उक्त रकम ल्याएर बैंकमा जम्मा गरिदिने छन् ।​​​​​​

योजनामा जोखिम कति ? 

डीसीईओ दाहालका अनुसार यस योजनामा जोखिम छैन । जस्तो नगद माग गर्नु भएको छ भने ग्राहकले पैसा पाएपछि मात्रै स्क्यान गरेर ओटीपी कोड राखेपछि मात्रै रकम खाताबाट काटिनेछ । 

‘रिक्वेस्ट गर्ने बित्तिकै रकम काटिने भन्ने हुँदैन । ग्राहकले हातमा नगद पाइ सकेपछि मात्रै खाताबाट रकम काटिने हाे । यो सेवा अनलाईनमार्फत सामान खरिद गरे जस्तै हो,’ डीसीईओ दाहालले भने, ‘जस्तो कुनै ग्राहकले डेबिट कार्डको लागि रिक्वेस्ट गर्नु भयो । त्यो रिक्वेस्ट कहाँबाट आयो, कुन स्थानबाट रिक्वेस्ट आयाे, कुन स्थानमा डेलिभरी गर्नुपर्ने हो सबै विवरण बैंकलाई उपलब्ध हुन्छ । त्यो भेरिफाइ पनि गरिन्छ । त्यसपछि डेलिभरी गरेर ग्राहक भएकाे ठाउँमा पुर्याइन्छ । ग्राहकले मैले पाए भनेर स्क्यान गर्नुपर्ने हुन्छ । स्क्यान गर्दा ओटीपी कोड आउँछ । त्यो ओटिपी कोड माेबाइल एपमा राखेपछि मात्रै कन्फरमेसन हुन्छ ।’

यो प्रडक्टकाे के फाइदा ?

डीसीईओ दाहालका अनुसार यस योजनामा बैंकिङ सेवा लिने ग्राहकलाई सबैभन्दा पहिला बैंकमा धाइराख्नु परेन । काममा व्यस्त रहेका मान्छेलाई समयको बचत हुने र घरमै बसेर बैंक सेवा पाउन सकिनेछ । साथै विदेशमा बसेका छोराछोरीहरूले नेपालमा रहेका आफ्ना आमाबुवालाई यस योजनाबाट फाइदा लिन सक्ने उनको भनाइ छ । 

‘जस्तो छोराछोरी विदेशमा र आमाबुवा घरमा हुनुहुन्छ । आमाबुवालाई बैंक सेवा चाहियो भने विदेशमा भएका छोराछोरीले उताबाटै अर्डर गर्न सक्नु हुन्छ । व्यापारीहरू, कर्मचारी वा जो व्यस्त छन् र बैंकमा जान गाह्रो हुनेहरूका लागि होम बैंकिङ सुविधा उपयुक्त हुन्छ,’ उनले भने, ‘घरमै बैंकको सेवा सुविधा पाइने भएपछि ग्राहकहरू थपिने छन् । यसले निक्षेप खाता ग्राहक बढ्नेछन् ।’

डीसीईओ दाहालका अनुसार तत्कालका लागि उक्त सुविधा काठमाडौं उपत्यका भित्र मात्रै सञ्चालन हुनेछ । निकट भविष्यमा यस प्रडक्टलाई उपत्यका बाहिरी पनि विस्तार गरिने योजना रहेको उनको भनाइ छ । दाहालका अनुसार यस योजनामा लागत धेरै लाग्ने छैन । रिक्वेस्टका आधारमा जनशक्ति तयार रहेको उनले बताए । उनका अनुसार यो सुविधा हेड अफिसबाट सञ्चालन हुनेछ ।

‘एक दिनमा १ सय जनाले खाता खोल्नु भयो भने एकै दिन १ सय जनाले सेवा लिनु हुन्छ भन्ने हुँदैन । कुनै ग्राहकले आज, कुनैले भोलि र कुनैले पर्सि सेवा लिनु हुन्छ होला । त्यसैले केही कर्मचारीलाई मात्रै राखिएको छ,’ डीसीईओ दाहालले भने । 

Share News