सेयर बजार चलाउन नियम र स्वतन्त्रता दुवै आवश्यक छ : नेप्से सीईओ चापागाईं

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक रहेको बताएका छन् । नेपाल सेयर बजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै उनले सेयर बजारमा नियम धेरै भयो भने बजारमा उत्साह घट्ने र स्वतन्त्रता पनि बढी भयो भने बजारमा अराजकता आउने बताएका हुन् । 

बुद्धिमानी पूर्वक नियमन अपनाउनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उनले लगानीकर्ताको हित र बजारको उर्जा पनि कायम राख्नेगरी नेप्सेले आफ्नो काम कारबाही अघि बढाउने प्रतिवद्धता जाहेर गरे । नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईंले पुँजीबजार केबल सेयर किनबेच गर्ने थलो मात्र नभएको बताउँदै यो देशको आर्थिक समृद्धिको आधार भएको पनि बताए । राष्ट्रको विकास, श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएको उनको भनाइ छ ।  

सीईओ चापागाईंले भने–‘आजको संसारमा पुँजीबजार केबल सेयर किनबेच गर्ने थलो मात्र होइन । यो देशको आर्थिक समृद्धिको आधार हो । राष्ट्रको विकास श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएका छन् । बजार भाग्यले होइन, बजारले चल्छ । दीर्घकालिन सोच र ज्ञान र संयम सफल लगानीका आधार हुन् । नेपालमा कतिपयले बजारलाई छोटो अवधिको कारोबारका रुपमा हेर्छन् तर वास्तमा पुँजीबजार जनताको वचतलाई उत्पादनशील लगानीमा रुपान्तरण गर्ने माध्यम हो ।’

उनले बजारमा धेरै लगानीकर्ता आइरहेको बताउँदै सेयर बजारको बारेमा साक्षरताको कमी देखिएको समेत बताए । नेपाल सेयर बजार लगानीकर्ता संघले साक्षरताका लागि नेतृत्व लिन समेत उनले सुझाव दिए ।  कार्यक्रममा सेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव श्रेष्ठले नेपालमा सेयर लगानीकर्ताहरु संगठित हुन जरुरी रहेकाले संघ स्थापना गरीएको बताए । उनका अनुसार लगानीकर्ताको आवाजलाई नीतिगत तहसम्मै पुर्याउन संघले महत्वपूर्ण भुमिका खेलेको छ । 

अध्यक्ष श्रेष्ठले भने–‘एउटा ठूलो तप्का ७० लाख सेयरका डिमाण्ट एकाउण्टवाला छन् । यो संख्या उल्लेख्य हो । नेपालको पुँजीबजारलाई चलायमान बनाउने कुरामा उनीको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ । तर सेयर बजारका लगानीकर्ताहरु जति छरिएर रहेका छौं । यसले हाम्रो आवाज नीतिगत तहसम्म पुग्न सही तवरले पुर्याउन सकेका छौ की छैनौँ भनेर विश्लेषण गरेपछि यो संस्था खोलिएको हो ।’

कार्यक्रममा साधारण लगानीकर्ता संघका अध्यक्ष रितुजंग जिसीले राज्यले राम्रो प्लेटफर्म बनाइदिएर संसारभर सेयर बजारको कारोबार हुने गरेको बताउँदै नेपालमा लगानीकर्ताको हितका लागि राज्यले राम्रो काम नगरिदिदाँ आफूहरु संघ, संगठन बनाएर हिँड्नुपर्ने अवस्था आएको बताए । उनले सेयर बजारका एजेण्डाहरु बोकेर नियमक निकायमा जाँदा बेवास्ता गरिने गरिएको गुनासो समेत गरे । 

Share News