विश्व मस्तिष्कघात दिवसमा ग्राण्डी अस्पतालमा सचेतनामूलक हाजिरीजवाफ

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्व पक्षघात (मस्तिष्कघात) दिवसको अवसरमा सचेतनामूलक हाजिरीजवाफ प्रतियोगिता गरेको छ । ‘प्रत्येक मिनेट गणना’ भन्ने मूल नाराका कार्यक्रम गरेको अस्पतालले जनाएको छ ।  

प्रतियोगितामा अस्पतालका डाक्टर, नर्स र कर्मचारीले सहभागिता जनाएका थिए । अस्पतालले मस्तिष्कघातको क्षेत्रमा सफल उपचार गरेबापत भर्खरै विश्व स्ट्रोक सङ्गठनबाट ‘एडभान्स स्ट्रोक सेन्टर’ को मान्यता समेत प्राप्त गरेको छ । ग्राण्डी अस्पताल ‘एडभान्स स्ट्रोक सेन्टर’ को मान्यता प्राप्त गर्ने नेपालको पहिलो अस्पताल हो ।

नेपालमा प्रत्येक १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको छ । नेपाल मस्तिष्कघात संघले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने र १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको हो ।

नेपाल मस्तिष्कघात संघका निवर्तमान अध्यक्ष एवम् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्युरोलोजिष्ट डा. राजु पौडेलले नेपालमा प्रत्येक १० मिनेटमा एकजनामा मस्तिष्कघात हुने गरेको बताए ।  

एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको  मस्तिष्कघात  मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा  मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै मस्तिष्कघात भनिन्छ ।  डा. पौडेल भन्छन्, ‘समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनुका साथै व्यक्तिको मृत्यु समेत हुनसक्छ ।’

नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल पक्षघात  (मस्तिष्कघात) सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम गरिँदै आइरहेको छ । डा. पौडेलले मस्तिष्कघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको बताए ।

उक्त संघले भर्खरै विश्वका एक दर्जन बढी मुलुकका ५०० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितिमा ‘हिमालय अन्तर्राष्ट्रिय मस्तिष्कघात सम्मेलन’ समेत आयोजना गरेको थियो ।

विश्वभर प्रत्येक वर्ष मस्तिष्कघातका कारण एक करोड २० लाख मानिस प्रभावित हुँदै आएका छन् । प्रभावितमध्ये ५० प्रतिशतको मस्तिष्कघातका कारण मृत्यु हुने गरेको छ । विश्वभर मस्तिष्कघात भएकामध्ये १० करोडभन्दा बढीले पुनर्जीवन पाएका छन् । 

‘नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा मस्तिष्कघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिन जरुरी छ,’ उनी भन्छन्, ‘नेपालमा अहिले मस्तिष्कघात भएका मध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।’ 

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले मस्तिष्कघात उपचारमा ग्राण्डी अस्पताल नेपालकै पहिलो अस्पतालको रुपमा विश्वस्तरीय मान्यता पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यसको गुणस्तर कायम राखिराख्ने प्रतिवद्धता व्यक्त गरे ।

Share News