काठमाडौं । सामान्यतया पार्टीको केन्द्रीय कमिटी बैठक भनेपछि नीतिगत छलफल, बहस र निर्णयको अपेक्षा गरिन्छ । तर, नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको पहिलो दिनमा भने अनौठो दृश्य देखियो । बैठक बहसभन्दा बढी फण्ड रेजिङमा केन्द्रित रह्यो ।
सुकेधारामा सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपाल स्वयं दुई घण्टा ढिलो उपस्थित भए । बैठक सुरु हुनासाथ अध्यक्ष नेपालले राजनीतिक एजेन्डा खोल्नुको साटो खाजा खर्च उठाउने घोषणा गरे । उनले ३५ हजार रुपैयाँ दिने भन्दै अभियानको सुरुवात गरेपछि बैठकको माहोल नै फण्ड संकलनतर्फ मोडियो ।
नेपालको पछिपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले १ लाख रुपैयाँ दिने घोषणा गरे । त्यसपछि अन्य केन्द्रीय सदस्यहरूबीच कसले कति दिने भन्ने प्रतिस्पर्धा चल्यो । एक केन्द्रीय सदस्यका अनुसार बुधवारको बैठकमा मात्र करीब ७ लाख रुपैयाँ खाजा खर्चको रूपमा उठेको छ ।
पछिल्लो समय अध्यक्ष नेपालसँग असन्तुष्ट देखिएकी पूर्वसचिव रामकुमारी झाँक्रीले भने १ हजार रुपैयाँमात्रै योगदान दिइन् । उनको पछिल्लो कदमले बैठकभित्र चिया–खाजाभन्दा पनि राजनीतिक सन्देश झल्किएको एक सहभागीले टिप्पणी गरे ।
बढाबढतर्फ बढेको फण्ड रेजिङ झाँक्रीले एक हजार योगदान गरेपछि भने बढ्नुको साटो घट्न थाल्यो । यसअघि बढाबढतर्फ अग्रसर केन्द्रीय सदस्य र नेताहरू झाँक्रीको एक हजार योगदानले थामिए । त्यसपछि सुरु भयो एक हजार अभियान ।
एक केन्द्रीय सदस्यका अनुसार बैठकको पहिलो दिन न नीति, न प्रस्ताव- खाजा खर्चकै चर्चामा बित्यो । बिहीबार दोस्रो दिनदेखि भने वास्तविक राजनीतिक एजेन्डामा प्रवेश गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएकाे छ ।
बुधवार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिले भने अध्यक्ष नेपालको गासमा ढुङ्गा लागेको कानेखुशी बैठकस्थलभरि भइरहेको थियो । श्रेष्ठले एकता गर्ने भए सिङ्गो पार्टी लिएर आउन माधव नेपाललाई चुनौती दिएका थिए।
बिहानभर माओवादी संयोजक पुष्पकमल दाहालसँग बसेर एकताको मोडालिटी र कार्यक्रम तय गरेर बैठकस्थल पुगेका नेपाल सम्मानित नेता झलनाथ खनालसहितका नेताको अभिव्यक्तिका कारण तनावमा रहेको एक नेताले जानकारी दिए ।