६ वर्षपछि ट्रम्प र सीबीच भेट : शक्ति सन्तुलन र आपसी निर्भरता पुनः परिभाषित गर्ने प्रयास

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सीसँगको भेटलाई ‘अद्भूत’ बताए

अक्टोबर ३० मा दक्षिण कोरियाको बुसानस्थित गिम्हे एयर बेसमा भएको द्विपक्षीय भेटका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्बिर : Andrew Harnik/Getty Images News

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथिको फेन्टानिलमा लगाइएका कर आधा घटाएर १० प्रतिशत पुर्याएका छन् र चीनसँग दुर्लभ खनिज (रेयर अर्थ्स) सम्बन्धी सम्झौता भएको घोषणा गरेका छन् ।

दक्षिण कोरियामा बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ता सम्पन्न भएपछि ट्रम्पले चीनसँग दुर्लभ खनिज र महत्त्वपूर्ण खनिज (क्रिटिकल मिनरल्स) सम्बन्धी एक वर्षे सम्झौता भएको र फेन्टानिलमाथिको कर घटाएको बताएका हुन् ।

दक्षिण कोरिया छोड्ने क्रममा एयर फोर्स वन विमानभित्र पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सीसँगको भेटलाई ‘अद्भूत’ बताउँदै ‘धेरै महत्त्वपूर्ण निर्णयहरू लिइएका छन्’ भनी उल्लेख गरे।

‘दुर्लभ खनिजको विषय समाधान भइसकेको छ,’ उनले भने, ‘यो एक वर्षे सम्झौता हो, जसलाई हरेक वर्ष पुनः वार्ता गरेर अद्यावधिक गरिनेछ ।’ 

उनका अनुसार चीनबाट आउने निर्यात वस्तुमा लगाइएका कर पनि ५७ प्रतिशतबाट घटाएर ४७ प्रतिशत पुर्याइनेछ ।

बदला स्वरूप चीनले ‘फेन्टानिल रोक्न निकै कडा प्रयास गर्ने’ र अमेरिकी सोयाबिन र अन्य कृषिजन्य वस्तुहरू पुनः किन्ने सहमति जनाएको छ ।

ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने बताएका छन्, जसपछि राष्ट्रपति सी पनि अमेरिकाको भ्रमण गर्ने योजना छ, यद्यपि समय भने तोकिएको छैन ।

छ वर्षपछि पहिलोपटक यी दुई नेताहरूको भेट भएको हो, जुन एक घण्टा ४० मिनेटसम्म चलेको थियो ।
भेटअघि दुबै नेताले मिलनसार शैली अपनाएका थिए — ट्रम्पले सीलाई ‘पुरानो साथी’ भन्दै’ सधैं राम्रो सम्बन्ध रहेको’ बताएका थिए भने सीले चीनको आर्थिक विकासले ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ दृष्टिकोणलाई कमजोर पार्ने होइन, सुदृढ पार्ने बताएका थिए ।

यस वर्ष विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ । यस महिनामा पनि तनाव बढ्दै गएको छ — चीनले निर्यात नियन्त्रण कडा बनाएको छ भने अमेरिकाले चीनतर्फ सफ्टवेयर–सञ्चालित वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

हालै अमेरिकाले चीनसँग गर्न चाहेका सम्झौताका विवरणहरू सार्वजनिक गरेको थियो — जसमा अमेरिकामा फेन्टानिलको प्रवाह नियन्त्रण, टिकटकलाई चीनको मूल कम्पनी बाइटडान्सबाट अलग गर्नुका साथै कर, प्रविधि प्रतिबन्ध र दुर्लभ खनिजसम्बन्धी विषयहरू पनि समावेश थिए ।

यद्यपि चीनले सम्भावित सम्झौता विषयमा सावधानीपूर्ण व्यवहार गरेको थियो, तर सम्बन्ध सुधारको संकेतस्वरूप चीनले केही महिनापछि पहिलोपटक अमेरिकाबाट सोयाबिन खरिद गरेको रोयटर्सले बुधबार जनाएको छ ।

Share News