प्रधानमन्त्रीको सचिवालयले भन्यो - कसैको दबाबमा गृहमन्त्री हटाइँदैन

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने विषयमा सञ्चार माध्यममा आएका समाचारहरू भ्रमपूर्ण भएको स्पष्ट गरेको छ ।

बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले हाल केही सञ्चार माध्यमले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन दबाब दिएको भन्ने समाचार प्रसारित गरेको उल्लेख गर्दै त्यस्ता विवरणमा कुनै सत्यता नभएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'कसैलाई मन्त्री बनाउने वा हटाउने विषय प्रधानमन्त्रीको विशुद्ध अधिकारक्षेत्रको कुरा हो । कसैको दबाब वा प्रभावमा यस्ता निर्णय हुन सक्दैन ।'

प्रधानमन्त्रीको सचिवालयका अनुसार जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुसार बनेको यो सरकारले असामान्य परिस्थितिमा राष्ट्रको जिम्मेवारी सम्हालिरहेको छ । गृहमन्त्री अर्यालले आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर खटिरहेको उल्लेख गरिएको छ ।

यस संवेदनशील समयमा अफवाह नफैलाउन र नपत्याउन सबै पक्षलाई सचिवालयले आग्रह गरेको छ ।

Share News