काठमाडौं । निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको समस्या समाधानका लागि भएको आन्दोलनमा स्वास्थ्य सेवासँग सम्बन्धित सबै ट्रेड युनियन तथा पेशागत संघ संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् । देशभरका निजी अस्पतालमा कार्यरत नर्सको आन्दोलनमा समर्थन जनाउँदै नेपाल नर्सिङ संघ लगायतका स्वास्थ्यकर्मीहरूले राखेको माग उनीहरू समर्थन जनाउँदै ऐक्यवद्धता जनाएका हुन् ।
विभिन्न १४ वटा संघ संस्थाले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै माग प्रस्तुत गरेका छन् । जसमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०८२ असोज २४ गतेको पत्रमा उल्लेख गरिए अनुसार स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक दिनुपर्ने, तोकिएको समय भन्दा अतिरिक्त कार्य गरेवापत अतिरिक्त भत्ता दिनुपर्ने, ज्यालादारीमा कार्य गराउन नहुने, सक्कल शैक्षिक प्रमाणपत्रहरू राख्न नपाइने, अनुभवको पत्र दिनुपर्ने, सबै स्वास्थ्यकर्मीहरूको तलब भत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी दिनुपर्ने परिपत्र तत्काल कार्यान्वयन गर्न माग गरेको छ । यस्तै प्रत्यक्ष मानव जीवनसँग सरोकार राख्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरू माथि विभिन्न समयमा आक्रमण गरी भौतिक तथा मानवीय क्षति पुर्याउने कार्य प्रति पनि गम्भीर रूपमा ध्यानाकर्षण गरेको छ ।
नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल जनस्वास्थ्य संघ, नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल, नेपाल रेडियोलोजिकल सोसाइटी, हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल नर्सिङ संघ र नेपाल डेन्टल साईन्स हाइजिनिस्ट एसोसिएसनले संयुक्त रुपमा उपभोक्ता संरक्षण ऐनका स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै दफाहरू स्वास्थ्यसँग सम्बन्धित विभिन्न ऐनहरूसँग बाझिएको हुँदा उक्त बाझिएका दफाहरू बाझिएको हदसम्म खारेज गर्न भनेका छन् ।
‘तत्काल यो ऐन संशोधन गरी स्वास्थ्यसँग सम्बन्धित ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूसँग नेपाल सरकारले विगतमा गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।