विमानस्थलमा नेपाल टेलिकमको फ्री वाइफाइ सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रु लक्षित फ्रीवाइफाइ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको शुभारम्भ कार्तिक ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको हो ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा फ्री वाइफाइ सेवाको उद्घाटन गरेका थिए । पहिलो चरणमा सेवा आगमन, प्रस्थान, भीआइपी कक्ष तथा प्रतिक्षा क्षेत्र लगायत विमानस्थलका प्रमुख स्थानहरूमा उपलब्ध गराइएको छ ।

नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौता अनुसार देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय र ३४ वटा आन्तरिक विमानस्थलहरूमा क्रमशः यो सेवा विस्तार गरिँदै जानेछ । यात्रुले वाइफाइ कभरेज रहेको स्थानमा गएर 'NTC_Free_WiFi' नामको नेटवर्क रोजी आवश्यक निर्देशन पूरा गरेपछि निशुल्क इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् ।

नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार यात्रुको सहजता र डिजिटल पहुँच विस्तारका लागि टेलिकमले यो सेवा सामाजिक उत्तरदायित्वका रूपमा सञ्चालनमा ल्याएको हो ।

Share News