काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा पहिलोपटक त्रिपक्षीय छलफल हुने भएको छ । यसमा सरकार, प्रमुख राजनीतिक दलहरू र जेनजी समूहका प्रतिनिधिहरूको सहभागिता रहने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित हुने छन् ।
राजनीतिक दलबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत बैठकमा सहभागी हुनेछन् । नेकपा एमालेका प्रवक्ता राजेन्द्र गौतमका अनुसार महासचिव शकंर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको नेतृत्व गर्दै वार्तामा सहभागीता जनाउने छन् । नेकपा माओवादी केन्द्र बाट वर्षमान पुन र माधव सापकोटा छलफलमा सहभागी हुने भएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठको सहभागिता हुने रहने छ ।
जेनजी समूहबाट इण्डिजिनिस जेनजी कलेक्टिभ, हाउ टु देश विकास, र जेनजी मुभमेन्ट एलाइन्सका १४ जना प्रतिनिधि सहभागी हुनेछन् । छलफलको मुख्य एजेन्डा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समग्र वातावरण निर्माण र राजनीतिक समझदारी जुटाउने रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चरणबद्ध रूपमा सबै सरोकारवाला पक्षहरूसँग वार्ता गर्दै आएको छ । यसअघि कात्तिक ४ गते पनि प्रधानमन्त्री कार्कीले सरकार र राजनीतिक दलबीच छलफल गरिसकेकी थिइन् । यस्तै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जेनजी समूहसँग पनि छलफल भइसकेको छ ।