बंगालको मौसमी चक्रवात मोचाको प्रभाव नेपालका विभिन्न प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित मौसमी चक्रवात मोचा भारतका बिभिन्न राज्य हुँदै नेपालको पूर्वी भूभागतर्फ प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार यो चक्रवातको असरले देशका पूर्वी र मध्य क्षेत्रका अधिकांश भागमा आगामी तीन दिनसम्म भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।  

'बंगलाको खाडीमा विकसित चक्रवात मोचा आज भारतको उत्तर–उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालको पूर्व–मध्य भागमा कात्तिक १२ गते राति प्रवेश गर्ने क्रममा रहेको छ,' विभागले जारी गरेको सूचनामा भनिएको छ ।

विभागका अनुसार उक्त प्रणालीको प्रभाव मंगलबार रातिदेखि बिहीबारसम्म देशका धेरैजसो भूभागमा पर्नेछ । विशेष गरी मधेश, कोशी र बागमती प्रदेशका थौरै स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पनि केही स्थानमा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुन सक्ने विभागले जानकारी दिएको छ । विभागका अनुसार बागमती, गण्डकी, कोशी र कर्णाली प्रदेशका नदी–खोला आसपासका बस्तीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहेको छ ।

बागमती, कन्काई, कमला, तामोर, अरुण, बुढीगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी र राप्ती लगायतका नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने विभागले बताएको छ । 

विभागका अनुसार विशेष जोखिममा पर्ने जिल्लाहरूमा इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, नुवाकोट रहेका छन् । यस्तै चितवन, लमजुङ, तनहुँ, गोरखा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङजा, रुपन्देही, नवलपरासी, पाल्पा र गुल्मीमा पनि जेखिम रहेको बिभागले आफ्नो सूचनामा जनाएको छ । दाङ, रोल्पा, प्युठान, रुकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र कालीकोटमा समेत जोखिम उच्च रहेको छन् ।

विभागले जनतालाई बाढी–पहिरो, चट्याङ, हावाहुरी र हिमपातबाट जनजीवन, यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा असर पर्ने सम्भावना भएकाले सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ ।

साथै, आकस्मिक परिस्थितिमा विभागको वेबसाइट, सामाजिक सञ्जाल पेज र टोल–फ्रि नम्बर (११४९) सेवामार्फत अद्यावधिक जानकारी लिन पनि अनुरोध गरिएको छ ।

null


 

Share News