ओलीमाथि लगाइएको स्थानहद विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि तोकिएको स्थानहद निर्णयविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दायर गरिएको छ ।

अधिवक्ता डा. प्रेमराज सिलवालले सार्वजनिक सरोकारको विषयका रूपमा मंगलबार उक्त रिट सर्वोच्च अदालतमा दर्ताका लागि पेश गरेका हुन् । उनले ओलीमाथि लगाइएको स्थानहद असंवैधानिक र कानूनी प्रावधानविपरीत रहेको दाबी गरेका छन् ।

सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार रिट निवेदन अध्ययनको चरणमा रहेको छ । उनले भने, 'रिट पेश भइसकेको छ, हाल अध्ययन भइरहेको छ। अध्ययन पूरा भएपछि दर्ता हुने वा नहुने भन्ने निर्णय हुनेछ ।'

यसअघि काठमाडौं उपत्यका प्रशासनले ओलीलाई उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकेको थियो, जसको विरोधमा यो रिट सर्वोच्चमा दायर गरिएको हो ।
 

Share News