काठमाडौं । सुत्केरी महिलाको मृत्युका कारण अशान्त बनेको किष्ट मेडिकल कलेज मंगलबार शान्त बनेको छ । मंगलबार ओपीडी इमर्जेन्सी लगायतका सबै सेवा सुचारु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार मंगलबार शान्तिपूर्णरूपमा काम भइरहेको छ । उनले अस्पताल प्रशासन र मृतकका आफन्तबीच सम्झौता भएसकेको तर कस्तो सम्झौता भयो भन्नेबारे जानकारी नभएको बताए । उनी भन्छन्, ‘सोमबार राती वार्ता भएको थियो, कुरा मिलेपछि आज अस्पतालको वातावरण शान्त बनेको छ, हामी पहिलेकै अवस्थामा काममा फर्केका छौं ।’ मेडिकल कलेज प्रशासन र मृतकका आफन्तबीच गोप्य सम्झौता भएको छ ।
प्रशासनका एक कर्मचारी भन्छन्, 'अस्पतालले जानाजान लापरबाही गरेको होइन कहिलेकाँही प्रयास गर्दागर्दै यस्तो घटना हुन जान्छ, जुन अस्ति भयो ।' उनका अनुसार सोमबार राती भएको सम्झौता अनुसार मृतक महिलाको बच्चाको स्वास्थ्यको जिम्मा अस्पतालले लिएको छ । मृतक मीनाश्रीका एउटा नौ वर्षको छोरा र भर्खरै जन्मिएको बच्चाको कक्षा १२ सम्म पढाउनेदेखि सम्पूर्ण स्वास्थ्य खर्च अस्पतालले व्यहोर्ने सम्झौता भएको बताइएको छ ।
यस्तै प्रदर्शनमा घाइते भएका व्यक्तिको उपचार पनि किष्ट मेडिकल कलेजले गर्ने र मृतक महिलाको उपचार खर्च अस्पतालले मिनाहा गर्ने सम्झौता भएको छ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका ९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो ।
सुत्केरी भइसकेपछि रक्तस्राव मृतकका आफन्तले अस्पताल तोडफोड गरेका थिए । चिकित्सकको लापरबाहीले सामान्य सुत्केरी गराउनुभएकी राइको मृत्युपछि बिरामीका आफन्त प्रदर्शन तथा तोडफोडमा उत्रिएका थिए भने अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।