विप्लव नेतृत्वको नेकपा नाम परिवर्तन गरेर दल दर्ताको तयारीमा, निर्वाचन आयोग पुग्यो विप्लवको टीम

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा पुगेकाे छ । पार्टी स्रोतका अनुसार महासचिव विप्लवको नेतृत्वमा मंगलबार दिउँसो आयोगमा पुगेर दल दर्ताको प्रक्रिया सुरु गरेकाे छ । 

यसअघि नै नेकपाले दल दर्ता प्रक्रियालाई अघि बढाउन स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्य तथा काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल सदस्यका रूपमा रहेका छन्। 

आयोगमा यस अघिनै नेकपा नामको दर्ता भइसकेकाले विप्लव नेतृत्वको समूहले पार्टीको नाम परिवर्तन सहित नयाँ रूपमा दर्ता गर्ने तयारी गरेको बताइएको छ ।

Share News