काठमाडौं । नेपाल पर्वतारोहण संघले हाल देशका उच्च पहाडी र हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेकाले ती क्षेत्रमा रहेका आरोहण दल र पदयात्रीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
संघका अध्यक्ष फुर गेल्जे शेर्पाले जारी गरेको सूचनामा आरोही र पदयात्रीलाई हाल हिमपात भइरहेको क्षेत्रतर्फ नजान र पासहरू क्रस नगर्न अनुरोध गरिएको छ । संघले हिमाली क्षेत्रमा रहेका आरोहण दल तथा पदयात्रीलाई सुरक्षित स्थानमा एकत्रित भएर बस्न र नेपाल पर्वतारोहण संघ तथा सम्बन्धित ट्रेकिङ कम्पनीहरूसँग नियमित सम्पर्कमा रहन पनि आग्रह गरेको छ ।
त्यसैगरी, संघले सबै ट्रेकिङ कम्पनीहरूलाई आफ्ना आरोहण दल र पदयात्रीहरूको सुरक्षामा सर्तकता अपनाउन र आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।
मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशका पहाडी र हिमाली भूभागमा हल्कादेखि भारी हिमपात हुने सम्भावना रहेको चेतावनी जारी गरेको छ ।
संघले उक्त पूर्वानुमानलाई मध्यनजर गर्दै सबै आरोही र पदयात्रीलाई अनावश्यक जोखिम नलिन र यात्रा अघि थप सावधानी अपनाउन पुनः अनुरोध गरेको छ ।