अस्पताल तोडफोड र चिकित्सकमाथि  भएको कुटपिट घटनामा चिकित्सक संघको आपत्ती

काठमाडौं । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि भएको कुटपिट र अस्पताल तोडफोड घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्तिक ८ गते उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको आपराधिक कार्यको भत्सर्ना गरेको छ । संघले उपचारको क्रममा मृत्यु भएको दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार र नवजात शिशुको शिघ्र स्वास्थ्यको कामना गर्दै आफन्तहरूले अस्पतालमा गरेको क्रियाकलापप्रति खेद प्रकट गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘यदि उपचारको क्रममा लापरबाही भएको संका लागेमा कानूनी प्रकृयामा जान सकिने प्रावधान हुँदाहुँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्नुका साथै स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता आपराधिक कार्यले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा नै असर पुग्ने छ ।’  

समग्र स्वास्थ्य क्षेत्रलाई आतङ्कित तथा भयभीत पार्ने गरी घटाइएको यस्तो अस्वभाविक घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानुनको दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६  (पहिलो संशोधन २०७९) बमोजिम कडा भन्दा कडा कारबाही गर्न तथा सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

null
 

Share News