५ महिनामा यी काम गर्नेछिन् स्वास्थ्यमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले आइतबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीसँगको भेटघाट कार्यक्रममा मन्त्री शर्माले जेनजीहरूको भावना अनुसार काम गर्न तयार रहनुपर्ने निर्देशन दिइन् । 

स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा तथा शाखाका प्रमुखहरूसँग उनले भ्रष्टाचार अन्त्य गर्दै सुशासनको पक्षमा काम गर्न आग्रह गरिन् । 

‘जेनजीहरूले भ्रष्टाचार बढ्यो र सुशासन भएन भन्ने माग राख्दै आन्दोलन गरेका हुन् । अब स्वास्थ्य मन्त्रालयले यसलाई प्रमाणित गरेर देखाउनुपर्ने बेला आएको छ,’ उनले भनिन् । 

उनले सबै कर्मचारीलाई आग्रह गर्दै भनिन्, ‘कुनै पनि तहमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्, भ्रष्टाचार आर्थिक रुपमा पनि हुन्छ प्रशासनिक रुपमा पनि हुन्छ, हामीले अनावश्यक काममा दुःख दिने काखापाखा गर्नु पनि भ्रष्टाचारकै अङ्ग हुन्, अब यस्तो नहोस् भनेर हामीले ख्याल गर्नुपर्छ ।’

उनले यही मन्त्रालयमा तीन वर्ष स्वास्थ्य सचिवकै रुपमा काम गर्दा भ्रष्टाचारलाई कसरी हटाउने भन्ने कुरा मुख्य चुनौती रहेको बताउँदै प्रशासनिक रुपमा गरे पनि राजनीतिक रूपबाट गर्न नसकेको बताइन् । 

उनले राजनीतिक कारण भ्रष्टाचार हुन थालेपपछि राजीनामा दिएको स्मरण गर्दै उनले खरिद प्रक्रियालाई पूर्ण रुपमा पारदर्शी बनाउन र शून्य भ्रष्टाचार कसरी हुन्छ भन्ने कुरामा जोड दिनुपर्ने बताइन् ।

शर्माले केन्द्रको मन्त्रालयमात्र नभइ प्रदेश र स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव रहेको बताउँदै भएका स्रोत साधनको कसरी सदुपयोग गर्ने भन्नेतर्फ चनाखो हुनुपर्ने बताइन् । 

मन्त्रीका प्राथमिकता

स्वास्थ्यमन्त्री डा. शर्माले मन्त्री भइसकेपछि आफूले प्राथमिकता दिएर गर्ने कामलाई सार्वजनिक गरेकी छन् । उनले सबैभन्दा पहिले जेनजी आन्दोलनमा ज्यान गुमाएका मृतकका परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने बताएकी छन् । 

परिवारको  भविष्यमा कमाएर पाल्न सक्ने छोरा वा छोरी नरहेकाले त्यो घरको आर्थिक अवस्था हेर्दै निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पहिलो निर्णय गरेकी छन् । यसका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था गर्ने उनको योजना छ । 

यस्तै शहीद परिवारबाट योग्यता पुगेका व्यक्तिलाई स्वास्थ्य सम्बन्धी विषयमा अध्ययन गर्न निजी क्षेत्रको समेत सहभागितामा कार्यक्रम सञ्चालन गर्ने बताइन् । उनले यो विषयमा तत्काल छलफल अगाडि बढाउनुपर्ने बताएकी छन् ।

‘अहिले हामी कहाँ स्वास्थ्य अन्तर्गतका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । ती कार्यक्रममा मृतकका परिवारका आवश्यक योग्यता पुगेका व्यक्ति छन् भने हामीले कार्यक्रममा समावेश गर्नुपर्छ, यसका लागि हामी तत्कालै काम सुरु गर्छौं,’ उनले भनिन् । 

मन्त्री शर्माले आन्दोलनका घाइतेलाई सरकारले निःशुल्क सेवा उपलब्ध गराइरहेको बताउँदै जबसम्म पूर्ण रुपमा निको हुँदैन तबसम्म यथावत राखिने बताएकी छन् । उनले घाइतेहरूको चोटपटकको वर्गीकरण कसरी भइरहेको छ, त्यसलाई हेरेर त्यही अनुरुप उनिहरूले पाउने क्षतिपूर्तीको व्यवस्था गर्ने बताइन् । 

स्वास्थ्यमन्त्री आफैले माओवादी द्धन्द्धकालमा चोटपटकको वर्गीकरण र उपचारको समन्वयकर्ताको रुपमा काम गरेकी थिइन् । आफूले यो विषयमा काम गरिसकेको र अनुवभव पनि भएकाले यसमा पनि आफैले काम गर्ने बताएकी छन् ।  

मन्त्री शर्माले मानसिक स्वास्थ्यको विषलाई प्राथमिकतामा राख्ने बताएकी छन् । देशको वर्तमान परिस्थिती हेर्दा मानसिक स्वास्थ्य ठूलो चुनौतीको रुपमा देखा परेको बताउँदै उनले यसलाई सम्बोधन गर्नुपर्ने बताइन् । यो विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा प्राविधिक टोलीसँग छलफल गरेर अगाडि बढ्ने योजना सुनाएकी छन् ।

डा. शर्मा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र महिला भएको बताउँदै जनसांखिक सर्वेक्षणको प्रतिवेदन हेर्दा मधेश, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा मातृ शिशु मृत्युदर उच्च रहेको बताउँदै उनले ती प्रदेशको जोखिममा रहेको लक्षित समुदाय छनोट गरी विशेष कार्यक्रम सञ्चालन गर्ने बताइन् । 

वैदेशिक रोजगारीमा गएका व्यक्तिमा स्वास्थ्यका समस्या रहेको बताउँदै उनले ती समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्ने बताइन् । उनले त्यसका लागि श्रम मन्त्रालयको समन्वयमा कार्यक्रम गर्ने योजना सार्वजनिक गरेकी छन् । अहिले नर्सहरू आन्दोलनमा रहेको बताउँदै उनले यस्ता समस्या सम्बोधनका लागि पहल गर्ने बताइन् । 

‘यो सरकारको अब ५ महिनामात्रै बाँकी छ, सबै कुरा हामीले चाहेर पनि गर्न सक्दैनौं तर सक्दो कोसिस गर्छौं,’ उनी भन्छिन्, ‘यो अवधिमा हामी अल्पकालिन, मध्येकालिन र दीर्घकालिन योजना बनाउँछौं । जसमा अल्पकालिन योजना पाँच महिनाको अवधिमा कार्यन्वयन गर्छाैं,मध्यकालिन योजना सुरुवात गर्छौ र दीर्घकालिन योजनामा कसरी अगाडि बढ्ने भन्नेबारे खाका बनाउँछौं ।

Share News