हयात होटल सञ्चालनमा आउन एक वर्ष लाग्ने

७ पटकसम्म बढी कर तिर्ने र २ पटक धेरै विदेशी मुद्रा सङ्कलन

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हयात रिजेन्सी) सञ्चालनमा आउन एक वर्ष लाग्ने भएको छ । हयात रिजेन्सीका कार्यकारी निर्देशक (ईडी) सुरेश लाल श्रेष्ठका अनुसार भदाै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त होटल सञ्चालनमा ल्याउन करिब एक वर्षको समय लाग्ने अनुमान गरिएको छ । 

उनका अनुसार हाल होटलमा भएको क्षतिको मूल्याङ्कन गर्ने कार्य चलिरहेको छ भने क्षतिको पूर्ण मूल्याङ्कन पश्चात् यस होटललाई स्तरोन्नति तथा पुनर्निर्माण गर्दै अझ विस्तारित र उत्कृष्ट सेवासहित यथासिघ्र पुनः सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता जनाए ।

‘करिब एक वर्षको समय लाग्ने अनुमान छ । यस होटलले आगामी दिनमा सरकारको राजश्व स्रोतमा वृद्धि गरी देशको आर्थिक विकासमा थप योगदान पुर्याउने र नेपालको फ्ल्यागशिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प बोकेका छौं,’ उनले भने ।

जेनजी आन्दोलनकारीहरुले होटलमा तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट अतिथि कक्ष, कार्य कक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्युट, चैत्यहरु लगायत संरचनामा ठूलो क्षति पुगेकाले पूर्ण रूपमा बन्द रहेको श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार पछिल्ला साढे दुई दशकमा उक्त होटल नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनहरूको साक्षी रहँदै आएको छ । यस अवधिमा चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारी जस्ता चुनौती पूर्ण अवस्थाहरूको सामना गर्दै वर्षोंदेखि हजारौं व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ छ । 

साथै, नेपाल सरकारले हयात रिजेन्सीलाई आर्थिक वर्ष २०७९/८० मा समेत गरि ७ औं पटकसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा र २ पटकसम्म पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा सङ्कलन गर्ने होटलको रुपमा सम्मानित गरिसकेको उनले जानकारी दिए । 

‘देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको यस होटलमाथि आन्दोलनको क्रममा गरिएको आक्रमण निन्दनीय छ । प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर प्रसाद खनालले यस विषम परिस्थितिलाई सम्बोधन गर्दै सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिनुभएको आश्वासनप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं,’ ईडी श्रेष्ठले भने । 

Share News