काठमाडौं । २०७३ साउन ३१ राप्तीभेरी विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३५० रुपैयाँमा कारोबार भएको थियो । साउन ३२ गते सञ्चालक समितिको बैठकले २०० प्रतिशत (१ बराबर २ कित्ता) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्यो । सञ्चालक समितिको निर्णय अनुमोदन गर्न भदौं १७ गते विशेष साधारणसभा बोलाइयो ।

नेपालगञ्जको सनराईज होटलमा विशेष साधारणसभा सम्पन्न भयो । सभामा सहभागी मध्ये बोल्नेले जोशका साथ बोले र सञ्चालक समितिको प्रस्तावमा समर्थन जनाए । नबोल्नेले उत्साहको साथ ताली बजाए । २०० प्रतिशत हकप्रद सेयरको प्रस्ताव सर्वसहमतिमा पास भयो । भोज खाएर सबै घर लागे ।
खुशी थपिने क्रम जारी थियो । भदौ २२ गते कम्पनीको सेयर प्रतिकित्ता ६२२ रुपैयाँमा कारोबार भयो । बैंकका सञ्चालक, व्यवस्थापक, सेयरधनीमा खुशी उत्कर्षमा पुग्यो । किनकी यो बैंकको सेयरको मूल्य सबैभन्दा माथि पुगेको ऐतिहासिक दिन त्यहि थियो ।
जान्ने, बुझ्ने, टाठा, बाठा सबैले सेयर हुत्याए । सोझा, साझा, कम्पनीको क्षमता थाहा नभएका, संस्थापकहरुलाई नचिनेका, नभेटेका, बैंक व्यवस्थापन नबुझेका, बजार विश्लेषण गर्न नसक्नेले भटाभट ब्रोकरलाई सेयर उठाउन आदेश दिए, किने ।
सेयर बजारको प्रवृति नै हो बलियाले बेचेपछि र कमजोरले किनेपछि सेयरको मूल्य घट्छ । राप्तभेरी विकास बैंकमा त्यहि भयो । सेयर बजारमा पनि मन्दी आयो । कम्पनीको सेयर मूल्यमा पनि पहिरो जान थाल्यो । फागुन १ गतेसम्ममा यस बैंकको सेयर मूल्य ५१.२२ प्रतिशतले घट्यो । सो दिन प्रतिकित्ता २९९ रुपैयाँमा कारोबार भयो ।

यतिमात्र होइन, नेपालगञ्जको राप्तीभेरी विकास बैंकले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्छ भन्ने आशमा चैत १५ गतेसम्म काठमाडौंका न्यूरोड, दरवारमार्ग, पुतलीसडकका ब्रोकर कहाँ गएर सर्वसाधारणले सेयर किन्दै थिए । तर विचरा ती लगानीकर्तालाई थाहा नै भएन नेपालगञ्जमा बसेको बैंक सञ्चालक समितिले हकप्रद सेयर निष्काशनको निर्णय गद्द गरिसकेको खबर ।
‘चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ’ बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राईले चैत १८ गते विकासन्युजसँग भने-‘बैंकमा ३३७ जना संस्थापक हुनुहुन्छ । दाङ, बांके र बर्दियामा रहेका सेयरधनीहरुसँग जिल्ला जिल्लामा गएर अन्तरक्रिया गर्यौं । तरलताको अभाव भयो । बैंकबाट ऋण लिनै नसकिने भयो भन्दै प्रमोटरले हकप्रद सेयर किन्न पैसा नभएको बताए ।’
‘एकातिर राष्ट्र बैंकले पुँजी वृद्धिको काम किन ढिला गरेको भनेर पत्र लेखेको लेख्यै गर्यो, अर्कोतिर प्रमोटरहरुले पैसा हाल्न सक्दैनौ भन्न थाले,’ राईले भने-‘परिस्थिति परिवर्तन भयो । हकप्रद सेयर निकाष्शन गर्ने निर्णय रद्द गरेर मर्जमा जाने निर्णय भएको छ ।’
यो बैंकले काठमाडौंस्थित ज्योति विकास बैंकमा विलय हुने निर्णय गरिसकेको छ । चैत १५ गते ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का र राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेम बहादुर भण्डारीले प्राप्ती सम्बन्धी सम्झौतामा हस्ताक्षर भईसकेको छ ।

पछिल्लो समय राप्तीभेरी बैंकको सेयर किनेका पुरुषोत्तम घोरासैनी यतिबेला किनै आक्रोशित छन् । ‘बैंकले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय साधारणसभाबाट परित भएपछि मैले उच्च मूल्यमा सेयर किनेँ । २०० प्रतिशत हकप्रद निष्काशन सेयर लागत प्रतिकित्ता २५० भन्दा कम हुने र सेयरको मूल्य धेरै घटे पनि ३०० रुपैयाँ हुने, प्रतिकित्ता ५० रुपैयाँ फाइदा हुने हिसावले सेयर किनेको थिएँ’ घोरासैनीले भने-‘१ बराबर २ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय साधारणसभाले गरेको छ, कम्पनीले धितोपत्र बोर्डमा निवेदन गरिसकेको छ । अब रद्द गर्न पाइन्छ ? धितोपत्र बोर्डले के हरिरहेको छ ? राष्ट्र बैंकले के हेरिरहेको छ ? पब्लिक कम्पनी यसरी अराजक र मनोमानी शैलीमा चल्न मिल्छ ?’

हकप्रद सेयरको घोषणा गर्ने, निर्णय गर्ने तर पछि व्याक हुने (कार्यान्वयन नगर्ने) प्रवृति देखिएकोले त्यसलाई रोक्ने प्रयास भईरहेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रबक्ता निरज गिरीले बताए । ‘हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेपछि कार्यान्वन गर्नै पर्छ भन्ने नियम कानुनको अभाव देखियो । हामी छिट्टै निर्देशिका जारी गर्छौ र घोषणा गरेपछि हकप्रद सेयर निष्काशन गर्नै पर्ने बाध्यकारी व्यवस्था गर्दैर्छौ ।’