माओवादीसँग एकताअघि समाजवादीमा विद्रोह, १२० भन्दा बढी नेता एमाले फर्किने तयारी

पहिलो दुई वर्षका लागि अध्यक्ष पुष्पकमल दाहाल रहने

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकताको अन्तिम तयारी सुरु भएसँगै समाजवादी पार्टीभित्र गहिरो मतभेद र असन्तोष चुलिएको छ । अध्यक्ष माधवकुमार नेपालको पहलमा अघि बढाइएको एकताले पार्टीलाई एकताको सट्टा विभाजनको डिलमा पुर्याउन खोजेको टिप्पणी पार्टीभित्रैबाट आउन थालेको छ।

माओवादीसँगको एकता समाजवादीभित्रै विभाजनको आधार बन्न सक्ने समाजवादीका एक नेताले विकासन्युजलाई जानकारी दिए । 

अहिले समाजवादी पार्टी माधव नेपालको निजी कम्पनीजस्तो भएकोले पार्टीका कुनै संरचनामा पनि एकताको विपक्षमा बहुमत नपुग्ने ती नेता बताउँछन् । तर सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीमा रहेका १२० भन्दा बढी नेताहरूले एकता पछिको पार्टीमा नजाने मनस्थिति बनाएको ती नेताको दाबी छ । 

नेपाल पक्षले यस एकतालाई वाम राजनीतिमा नयाँ उत्साहका रूपमा चित्रण गरेको छ । नेपाल निकट एक नेता भन्छन्, ‘माओवादी र समाजवादीबीच विचार र नीतिमा समानता छ । त्यसैले आसन्न एकताले केवल संगठनात्मक समायोजन गर्ने छ ।’

तर, नेपालको यही एकल अभियानले पार्टीका अन्य नेताहरूबीच असन्तोष बढाएको पार्टीका एक पदाधिकारी बताउँछन् । उनी भन्छन्, ‘अध्यक्ष नेपालले एउटा घर डढाएर थुपारेको खरानीको कारोबार सकिएपछि फेरि अर्को घर जलाउने प्रयत्न गर्नु भएको छ ।’

अध्यक्ष नेपालले घर डढाएर खरानीको व्यापार गर्न व्यक्तिगत रूपमा माओवादीसँग गोप्य सम्झौता गर्न लागेको ती पदाधिकारीले बताए । 

उनका अनुसार यो हुन लागेको भनिएको एकता विचार, सिद्धान्त र संगठनको समानता होइन, राजनीतिक पद–व्यवस्थाको सम्झौता मात्रै हो ।

यसैबीच, वरिष्ठ नेता घनेन्द्र बस्नेतसहितका केही नेता भने एकतापछि पुरानो घर फर्कने योजनामा रहेको बताइएको छ ।

पार्टीभित्र अपेक्षाकृत मौन देखिएका वरिष्ठ नेता बस्नेतसहितका पदाधिकारीहरू  तथा नेताहरू माओवादीसँगको एकता रोक्ने खुला प्रयास नगर्ने तर एकता सम्पन्न भएपछि एमाले फर्किने तयारीमा रहेको बताइएको छ ।

पार्टीका एक वरिष्ठ नेताले भने, ‘माधव नेपालले मनोनीत गरेका केन्द्रीय सदस्य मध्ये १२० भन्दा धेरै केन्द्रीय सदस्य एमाले फर्कन तयार छन् । उनीहरूसहित बहुमत कार्यकर्ताहरुले एकताको नतिजा हेरेर मात्रै अन्तिम निर्णय गर्नेछन् ।’

यो समूहको बुझाइमा माओवादीसँग मिल्दा समाजवादीका पुराना नेताहरूको भूमिका न्यून हुनेछ । त्यसैले पुरानो घर फर्कनु नै व्यवहारिक विकल्प हुने ती नेताको भनाइ छ ।

दुवै दलबीच सहमतिको प्रारम्भिक खाका तयार भइसकेको बताइएको छ । नयाँ दलको नाम नेकपा समाजवादी केन्द्र राख्ने प्रस्ताव गरिएको छ । 

यता नेकपा एसका सचिव सोमप्रसाद पाण्डे एकता प्रक्रिया सुरुवाती चरणमा मात्रै रहेको बताउँछन् । पार्टी एकता र कार्यगत एकताका लागि नेत्रविक्रम चन्दको नेकपा, नारायणमान बिजुक्छेको नेमकिपा र महेन्द्रराय यादवको दलसँग पनि कुरा भएको उनले जानकारी दिए ।

नेतृत्वको सन्दर्भमा पहिलो दुई वर्षका लागि अध्यक्ष पुष्पकमल दाहाल रहने र माधवकुमार नेपाल सह–अध्यक्षका रूपमा रहने समझदारी बनेको नेकपा समाजवादीको वार्ता टोलीका एक सदस्यले जानकारी दिए ।

तर यही प्रस्तावले समाजवादी नेताहरूबीच असन्तोष फैलाएको बुझिएको छ । झलनाथ खनाल समूहले यसलाई बराबरीको एकता होइन, आत्मसमर्पणको दस्तावेज भएकोले धेरै चिज नयाँ सिराबाट सुरु गर्नुपर्ने बताएका छन् ।

यता नेकपा एमाले सम्बद्ध नेताहरू भने माओवादीसँग समाजवादी एकताले आफूहरू खुसी भएको बताउँछन् । माओवादीसँग समाजवादी एकता भयो भने माधव नेपालसँग रहेका धेरै नेता एमाले फर्कनेछन् । यसले एमालेलाई पुनः वाम शक्तिको केन्द्र बनाउने एमाले नेताहरूको बुझाइ रहेको छ ।

एकीकृत समाजवादी अहिले इतिहासको निर्णायक मोडमा उभिएको एकताबाट असन्तुष्ट बनेका एक नेताले बताए । उनका अनुसार नेपाल समूहले माओवादीसँगको एकता वाम राजनीतिलाई पुनर्जीवित गर्ने अवसरका रूपमा देखिएको दावा गरेको छ । तर असन्तुष्ट समूह भने यो एकताले पार्टी विभाजन गर्ने चेतावनी दिइरहेका छन् । 

यदि अध्यक्ष नेपालले असन्तुष्ट पक्षसँग सहमति खोज्न सकेनन् भने समाजवादी पार्टी पुनः दुई वा तीन भागमा टुक्रिन सक्ने समाजवादीका एक नेताले दाबी गरे ।

Share News