काठमाडौं । संघीय सरकार आंशिक रूपमा बन्द भइरहेका बेला अमेरिकी सरकारको कुल राष्ट्रिय ऋण बुधबार ३८ ट्रिलियन डलर नाघेको छ । यो संख्या अमेरिकाको वित्तीय सन्तुलनमा तीव्र रूपमा बढ्दै गएको ऋणलाई झल्काउँछ ।
यो कोभिड(१९ महामारीबाहेकको अवधिमा अमेरिकी इतिहासमै सबैभन्दा छिटो १ ट्रिलियन डलर ऋण थपिएको समय पनि हो । यसअघि सन् २०२५ को अगस्टमा अमेरिकी राष्ट्रिय ऋण ३७ ट्रिलियन डलर पुगेको थियो ।
३८ ट्रिलियन डलरको यो अद्यावधिक तथ्यांक अमेरिकी ट्रेजरी विभागको पछिल्लो प्रतिवेदनमा समावेश छ, जसमा राष्ट्रको दैनिक वित्तीय स्थिति उल्लेख गरिएको छ ।
पेन्सिल्भेनिया विश्वविद्यालयको पेन ह्वार्टन बजेट मोडेलका केन्ट स्मेटर्स जो पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसको ट्रेजरी विभागमा कार्यरत थिए । उनका अनुसार समयसँगै बढ्दै गएको ऋणभारले अन्ततः मुद्रास्फीति बढाउँछ र अमेरिकन जनताको खरिद शक्ति कमजोर बनाउँछ ।
अमेरिकी सरकारी लेखा निकायका अनुसार बढ्दो सरकारी ऋणले निम्न असर पार्छ — घर वा गाडीका लागि ऋण लिँदा बढी ब्याजदर तिर्नु पर्ने, व्यवसायहरूमा लगानी गर्न पैसा अभाव हुँदा तलब घट्नु, र वस्तु तथा सेवाहरू महँगा हुनु ।
‘धेरै मानिसहरू आफ्नो सन्तान र नातिनातिनीहरूको भविष्य सुरक्षित होस् भन्ने चाहन्छन् — उनीहरूलाई घर किन्ने सामथ्र्य रहोस् भन्ने चाहना हुन्छ । तर बढ्दो मुद्रास्फीति त्यसलाई झन् कठिन बनाउँदै लैजान्छ र उपभोक्ताको खरिद शक्ति घटाउँछ,’ उनले भने ।
ट्रम्प प्रशासनका अनुसार उनीहरूको नीतिले सरकारी खर्चमा नियन्त्रण ल्याएको र देशको ठूलो घाटा घटाइरहेको छ । ट्रेजरी विभागको नयाँ विश्लेषण अनुसार अप्रिलदेखि सेप्टेम्बरसम्मको कुल घाटा ४६८ अर्ब डलर रहेको छ ।
बुधबार एक्स (पुरानो ट्वीटर) मा ट्रेजरी सेक्रेटरी स्कट बेस्सेन्टले भनेका छन् — ‘यो सन् २०१९ पछि देखिएको सबैभन्दा न्यून घाटा हो ।’
‘राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेको पहिलो आठ महिनामा खर्च कटौती र राजस्व बढाएर सन् २०२४ को सोही अवधिको तुलनामा घाटा ३५० अर्ब डलरले घटाएका छन्,’ ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले विज्ञप्तिमा भनेका छन् ।
‘सरकारले बलियो आर्थिक वृद्धि, घट्दो मुद्रास्फीति, शुल्क राजस्व वृद्धि, कम ऋण लागत र फजुल खर्च तथा भ्रष्टाचार नियन्त्रणका कार्यक्रमहरू अघि बढाउँदैछ,’ उनले थपे ।
संयुक्त आर्थिक समितिका अनुसार पछिल्लो एक वर्षमा अमेरिकी कुल राष्ट्रिय ऋण प्रति सेकेन्ड ६९ हजार ७१३.८२ डलरले बढेको छ ।
पिटर जी। पिटरसन फाउन्डेशनका अध्यक्ष तथा सीईओ माइकल पिटरसनका अनुसार ‘सरकार बन्द भइरहेका बेला ऋण ३८ ट्रिलियन डलर पुग्नु सांसदहरूले आफ्ना मौलिक वित्तीय जिम्मेवारी पूरा गर्न असफल भएको स्पष्ट संकेत हो ।’
‘ऋण बढ्दै जाँदा ब्याज भुक्तानी पनि तीव्र गतिमा बढ्दै गएको छ, जुन अहिले बजेटको सबैभन्दा छिटो बढ्ने हिस्सा बनेको छ । गत दशकमा हामीले ब्याज तिर्नेमा ४ ट्रिलियन डलर खर्च गरेका थियौं, तर आगामी दशकमा यो १४ ट्रिलियन डलर पुग्नेछ । ब्याज खर्चका कारण महत्त्वपूर्ण सार्वजनिक तथा निजी लगानीहरू घट्नेछन्, जसले प्रत्येक अमेरिकीको अर्थतन्त्रमा दीर्घकालीन असर पार्नेछ,’उनले थपे ।
अमेरिकी ऋण सन् २०२४ जनवरीमा ३४ ट्रिलियन डलर, जुलाईमा ३५ ट्रिलियन डलर र नोभेम्बरमा ३६ ट्रिलियन डलर पुगेको थियो।